अभावहरूलाई
खुद्रा पैसाजस्तै खल्तीमा राखेर
त्यसै, त्यसै सुम्सुम्याइरहेँ
केही भनिनँ,
गुनासोहरूलाई सधैं पोलेको हरियो मकैजस्तै
छोडाएर आफैं चपाइरहेँ
कसैलाई केही भनिनँ,
रहरहरू थिए र फुल्छु भन्थे सधैं
पुरानो कोटजस्तै थन्क्याइदिएर कुनामा कहीँ
मैले यो देशको जिन्दावाद गाइरहेँ !
मैले असाध्यै माया गरेको यो देशका लागि
बग्दा–मेरो पनि रगत पसिना बगेको छ
कसैले भनेन,
एउटा अर्को साँझ पर्खेर साँझमा
सश्रद्धा ढोगिरहेँ यो माटोलाई मैले
देशसामु कहिल्यै दुख्यो भनिनँ,
नागरिकताको जेलमा कैद भएर वर्षौं बिताएँ
कुनै आस्थाको बन्दीजस्तै
तर रोएर कुनै इतिहास मागिनँ,
मेरैमात्र पेवा हो र दुख्नलाई दुःख ?
नांगा जिउ र भोका पेटको बस्तीको नायक
हिजो मैले यो देशसँग
अलिकति शान्ति मागेँ, अलिकति न्याय मागेँ
र मागेँ थोरै स्नेह,
भित्रभित्रै जलिरहेको प्राचिन रोम भएर म !
मेरो छेउ बजाए केही सुकिला निरोहरूले
आदर्श र उन्मादको बाँसुरी–
पथभ्रष्ट यो युवक सोच्दो रहेछ
देशलाई के दिएँ हैन के पाएँ भनेर
र हुइँकिए उनीहरू
कुल्चिँदै पांग्राहरूले सडकमा छताछुल्ल पानीजस्ता
हाम्रा निमुखा सपनाहरू,
अनुभूतिको गहिरो ऐँठनमा परेर
देशको अनुहारतिर हेरेँ
बुढानीलकण्ठको मूर्ति भएर मस्त सुतिरह्यो
बोल्दै बोलेन मेरो देश !