Last modified on 23 अगस्त 2016, at 09:26

कञ्चनजङ्घा र हामी / मनप्रसाद सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:26, 23 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

[दन्त्यकथादेखि उत्तरआधुनिक कथासम्म]

पहिले पहिले (अर्थात् उहिले नै भनौँ )
कञ्चनजङ्घाको अघिल्तिर उभेर
हामी कञ्चनजङ्घा हेर्थ्यौं
हाम्रो अघिल्तिर उभेर
कञ्चनजङ्घाले हामीलाई हेर्थ्यो
हामीले फेरेको सास अनि
कन्चनजङ्घाको वाफ मिलेर
मास्तिर यौटा सफा आकाश टाँगिन्थ्यो
हाम्रा डाँडाहरू र थुम्काहरू
आकाश भेट्न माथि उठ्थे
रूखहरूले ती डाँडाहरूलाई
आफ्ना हाँगाका पाखुराहरुमा उचालेर
अझ अग्लो अग्ल्याइदिन्थे

आफ्नो अनुहारमा टल्किरहेको घामलाई
कञ्चनजङ्घाले हाम्रा अनुहारतर्फ फर्काइदिन्थ्यो
र हाम्रा अनुहारहरू
कञ्चनजङ्घाका टाकुराहरू भएर उज्यालिन्थे
हाम्रो खुल्ला झ्यालको चौखटमा अडेसिएर
हठात् भित्रपट्टि टाउको घुसाउँदै
कञ्चनजङ्घा हामीसित जिस्किन्थ्यो, हाँस्थ्यो
भनूँ भने, दैलोबाट भित्रै पसेर
हाम्रो चुलामा आगो जोडिदिन्थ्यो
दशैंमा केही नयाँ लुगा
र मीठो परिकार लिएर आउँथ्यो
हामीले आफूलाई टुहुरा अनुभव गर्दा
उसैले हामीलाई
अभिभावकको स्नेहले सुम्सुम्याउँथ्यो
हामी हेपिँदा
कञ्चनजङ्घा नै हाम्रो छातीमा हौसला भरिन्थ्यो
हाम्रो काँधमा ऊ नै ढाढसको थप्की बज्थ्यो
नाइट शो हेरेर घर फर्किंदा पनि
उसैले हामीलाई घरको दैलोसम्म पुर्याउँथ्यो
कञ्चनजङ्घा हाम्रो आँखामा मात्र थिएन त्यस बेला
ऊ त हाम्रो छातीभित्रै धुकधुकाइरहेको हुन्थ्यो...

तर... यो भयो अब दाँत झरिसकेको दन्त्यकथा ।

आज पनि हेर्न खोज्छ कञ्चनजङ्घाले हामीलाई
तर हामी उसका आँखाअघि देखा पर्दैनौँ
कञ्चनजङ्घाभन्दा अग्लाअग्ला
कङ्क्रिटका पर्वतहरूपछिल्तिर
मसिना लिलिपुट भइसकेका हामी
हरक्षण हतारहरू हिँडिरहेका हुन्छौँ ..
चट्टानभन्दा चाम्रो र चिसो
बहुतल्ले बिल्डिङहरूको चेपबाट घुम्दै गएको
गन्हाउने गल्लीको सुरुङभित्र
सपनाहरु जित्न वकिङ रेसमा
सासले भ्याईनभ्याई हाँपिँदै हिँडिरहेको हामीलाई
कन्चनजङ्घाले
उसको सेतो घिच्रो
तन्काई

न्का

हेर्दा पनि
देख्न सक्तैन ।
हामीलाई देख्न नपाएर
कञ्चनजङ्घाको मन कस्तो हुँदो हो, नसोध –
हाम्रो संवेदना सुक्खा भएको छ माइक्रोचिप्सजस्तै
जसद्वारा अचेलका हाम्रा मनहरु प्रोग्रामिङ गरिएका हुन्छन्
त्यसैले, प्रोग्रामदेखि बाहिरका कुराहरू सब वाहियात हुन् !
तीसँग हामीलाई के मतलब ?
तर कञ्चनजङ्घालाई चैं हामीले
उपभोक्तावादको प्लेटमा टोस्टजस्तो राखेर
पर्यटकलाई सोध्दै बेच्छौँ –
एक स्लाइस, दुइ स्लाइस, हाफ कि फुल् कञ्चनजङ्घा ?
चौँरीगाईको ढाडजस्तो उठेका
ती डाँडा र थुम्काहरूलाई त
हाम्रा हिंस्रक चाहनाका चितुवाहरूले
चोक्टा र लाम्टा गरी हड्डीसमेत चपाएर खाइसके ।
हामीभित्रको कञ्चनजङ्घाको उँचाइ चैं
फ्ल्याटको हिसाबमा बिक्रि भइसक्यो ।

त्यो अबोध नस्ट्याल्जिक कञ्चनजङ्घा भने
हामीलाई हेर्ने तिर्सनाले
बिल्डिङहरूको चेपचापबाट चिहाउँछ
यो सहरसितको पुरानो आत्मीयता पाउने चाह गर्छ
तर अब थेत्तरी भइसकेकी यो पहाडकी रानी भनिने सहर
चिथ्रा फाटेको नाइटी निकै माथि सुर्काएर
भिक्टोरिया फल् नाम ट्याटू गरिएको आफ्नो योनीबाट
धमिलो पानी झारेको झारेकी छ ---
      छ
              ल
                   ल
                          ल
                                .
                                 .
त्यो पानी कहिले सङ्लेला हँ ?
यो प्रश्नको उत्तर छैन
किनकि
यो हो अब दाह्रा उम्रिसकेको उत्तरआधुनिक कथा !