भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रश्नचिन्ह अग्लो उठाएर / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:32, 23 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सुँडहरू अग्लो प्रश्नचिन्ह उठाएर
दस हजार हात्तीहरूको आवाजले
यो सहरलाई सोध्नु –
यो के भएको ?

ल्याम्पपोस्टको टुप्पाटुप्पामा / अनि
ट्राफिक पुलिसको टाउकोटाउकोमाथि बसेको गिद्दहरुले
घोप्टेर के हेरिराखेको हँ ?

खै कता गयो देउसेहरूले दिइराखेका –
ए यस्सै घरका परेवापन्छी
उड्दामा क्यारे सुर्जे छेल्ने
बस्दामा क्यारे पिर्थिवी ढाक्ने..

अचेल
कागहरूको कोरस मात्र कानभरि थुर्रिन्छ सडक-नाटकमा दिनहुँ

अपशकुनको सूचना रूँदै दिन्थे हाम्रा कुकुरहरूले उहिले
अब चैं सबैतिर
संवेदना साँच्चै सुकेकै हो त ?

आठ-दस हजार इलेक्ट्रिक रन्दाहरूलाई
यहाँ बीच सडकमा रून बोलाऊँ
कतै झन्डाहरुबाट
एकदुइ थोपा संवेदना
तुर्किन्छ कि !

तेंत्तीस कोटी देवी-देउताहरू कहाँ के गर्दैछन् हँ ?
पाण्डवहरूको नाममा कुन्नि को-को अनामहरू
तेंत्तीस चोटि डढिसके लाहाघरभित्र !

ए माङहिमका फेदाङमा र बिजुवाहरू,
निस्कन हौ तल
बीच चोकबजारमा लिङ्गो ठड्याएर
कम्प छुटाउँदै उफ्र
उफ्र
उफ्र
उफ्र
अनि फलाक्नुपर्ने कुराहरू सप्पै
फलाक फलाक फलाक