Last modified on 22 नवम्बर 2016, at 10:48

यौटा यस्तो प्रेम / मनप्रसाद सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:48, 22 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

१. यौटा अर्थ भेट्टाएको छु अनुपम
    जसलाई तर दुनियाँले दूरदूर गर्छ !
    मभित्र भने यो अर्थ यौटा यस्तो कविता धड्किन्छ
    कि शब्दहरूको खस्रो जिब्रोमा उच्चरित हुनै सक्दैन

    मुटुभित्र हृदयलाई रसिलो बनाइराख्ने
    यसलाई तिमी सूक्ष्म माधुर्य भन्नसक्छौ
    जो सङ्गीतकारको अन्तरकुन्तरमा गुन्जिरहन्छ
    तर ध्वनिको कुनै ढाँचामा अनूदित हुन सक्दैन

    म यौटा फूल फक्रक्क फक्रेर
    स्वप्निल बेहोशीमा पुग्छु
    यो अर्थको बाइपङ्खी घोडामा सवार
    म एक्सटेसीको रहस्यमय देश डुल्छु
    मेरो अनुहारको अँध्यारो पाखा
    भर्खरै झुल्केका आँखाहरूले उज्यालिन्छ
    नयाँ भेटिएको यै अर्थको अँगालोमा
    लामो हिउँदे रात न्यानो बन्छ
    अनि कविताको फट्फट पखेटाको तालमा
    उकुसमुकुसिएको गर्मी दिनले पनि गीत गाउँछ

    यो अर्थ नयाँ-नौलो सँधै
    कहिल्यै नरोकिने सृष्टिझैं !


२. यो छटपटीले पाएकोछ
    यौटा उच्च मौनता
    तिनीहरू यसलाई कुरूप मात्र होइन,
    अपवित्र नै ठान्छन् !

    मेरो शरीरको लाखौँ छिद्रहरूबाट छिरेर
    मेरो अन्तश्चेतनाभरि फैलिएको छ यो

    मनमनै मुस्काइरहने यो मौनताले
    मेरो आँखाको रित्तोपनलाई
    सपनाहरूसित सल्बलाइदिन्छ

    अब गौंथली बनेका मेरा आँखाहरू
    त्यो मौनताको आकाशमा उडिरहन्छन्


३. आविष्कार गरेको छु यौटा सत्य
    जसलाई तर यो दुनियाँले
    झूट मात्र होइन, अधर्म नै ठान्छ !

    मेरो अन्तर्मनको भित्री कोठामा
    यो एक बत्ती बल्छ झलमल्ल शान्त
    कहिले यो आफै फुलिदिन्छ
    यौटा जङ्गली फूल
    अनि मेरो कोटको बटनहोलमा
    सिउरिदिन्छु यसको त्यो जङ्गली मुस्कान

    लम्बिँदै गइरहेको हिउँदमा चाहिं
    म आफ्नो गलामा बेर्छु
    त्यसको न्यानो सासको ऊनी मफलर