सङ्गीतले छोडेको एउटा अधुरो गीत हुँ
कैयन् आँखाहरूमा अल्झी झरेको प्रीत हुँ
 
बाँच्दैछु वर्तमान, निफन्दै सपना भोलिको
छुईनँ तर बिर्सेको, म कसैको अतीत हुँ
 
फूल हौ तिमी सुहाउँछ, हाँसे पनि रोए पनि
मलाई त हाँस्न नभन, म त सधैँको शीत हुँ
 
कहाँ के भो के चासो, बाँच्दछु म आफैँसँग
हार हुँ आफैँ आफ्नो, म आफ्नो आफैँ जीत हुँ
 
काडाँ हो माया भन्छन् मलाई यो फूल लाग्छ
झुठो बोल्दैछन् सबै, या म चाहिँ भ्रमित हुँ ?
 
फूल हो माया भन्छन् मलाई यही काँडा भो 
अरु सबै गलत हुन्, या म मात्र श्रापित हुँ ?
 
लौ उठा मलाई तैँ सुमन ! मातियो यहाँ धेरै नै
अझै त छ, केही त होश, आएको अघि तैँसित हुँ