परिचयपत्र / महमुद दरविस / सुमन पोखरेल
म त्यहीँको हुँ।
जीव जन्मिएजसरी जन्मिएका मेरा स्मृतिहरू छन्।
मेरी एउटी आमा हुनुहुन्छ, र झ्यालैझ्याल भएको एउटा घर छ,
मेरा दाजुभाइ छन्, साथीहरू छन्,
र सिरेटो छिराउने एउटा झ्याल भएको जेलको एउटा छिँडी छ।
समुद्री चराले खोसेका तरङ्गहरू छन् मेरा,
मसँग मेरो आफ्नै सोचाइ
र घाँसको थप एउटा त्यान्द्रो छ।
शब्दहरूको पल्लो किनारमा हाँसिरहेको जून मेरो हो,
र चराहरूको अप्रतिम कोसेली
र ओलिभको अजम्बरी रुख मेरो हो।
यसको जिउँदो शरीरलाई
तरवारहरूले क्षतविक्षत बनाउनुभन्दा पहिल्यैदेखि
हिँडेको हुँ म यो भूमिमा।
म त्यहीँको हुँ
जहाँ आमा खोजेर रुँदै गरेको आकाशलाई मैले
उसकी आमाको काखसम्म पुर्याइदिएथेँ
र आफूलाई बादलले चिनोस् भनेर रोएँथेँ।
नियम भत्काउन सक्ने हुनेछु भनेर शब्दहरू सिकेँ मैले
जो रगतको खोलोभन्दा ज्यादा मूल्यवान थिए।
मैले सबै शब्दहरू सिकेँ र भत्काएँ तिनलाई
र बनाएँ एउटा शब्द - 'मातृभूमि'।
दर्होसँग गाडिएका छन् मेरा जरा
समय जन्मनुभन्दा पहिल्यैदेखि,
युगहरूका ढोका खुल्नुभन्दा पहिल्यैदेखि,
सल्ला र सालका रूखहरूभन्दा पहिल्यैदेखि,
र घाँस उम्रन थाल्नुभन्दा पहिल्यैदेखि।
मेरा बुवा, कुनै सम्भ्रान्त परिवारमा हैन
हलो जोत्दै हुर्किनु भएको हो।
मेरा हजुरबा किसान हुनुहुन्थ्यो,
न त राम्रोसँग बढ्न पाउनु भयो, न त राम्ररी जन्मनु नै भयो!
वहाँले पढ्न सिकाउनुभन्दा पहिले
सूर्यको गौरवका बारेमा बुझाउनु भएको थियो मलाई ।
मेरो घर एउटा पालेघर जस्तै छ
बाँसका सिक्रा र रुखका हाँगाले बनेको।
के मेरो अवस्थाले तिम्रो चित्तलाई तृप्त पार्यो?
मेरो एउटा नाम छ, कुनै पद बिनाको!
लेख!
म एउटा अरबी हुँ।
तिमीले चोरेका छौ
मेरा पुर्खाहरूको खेतबारी
मैले बाली लगाएको मेरो धर्ती
र मेरा छोराछोरीसमेत।
तिमीले हाम्रा लागि केही पनि बाँकी राखिदिएनौ
यी ढुङ्गाहरू बाहेक।
र यो पनि राज्यले लानेछ भन्ने सुनिँदैछ अचेल।
त्यसैले!
पहिलो पृष्ठको सबैभन्दा माथि लेख -
मानिसलाई घृणा गर्दिनँ म
न त म अरूको सम्पत्ति हडप्दै हिँड्छु।
तर म भोकाएँ भने
मेरो सम्पत्ति बलजफ्ति हडप्नेहरूको मासुनै
मेरो आहारा हुनेछ।
सावधान...
सावधान रहू...
मेरो भोक र
मेरो रिसबाट।