यथोचित मेरा पिता ! / कुन्दन शर्मा
(पिताश्री पिँडालीज्यूको मृत्युमा छोरी कुन्दनको अनुभूति ।)
एउटा सम्बन्ध
अब सम्झना भयो
हुन त यो सम्पर्क नै भइसकेको थियो ।
म आएँ पाहुना भई
तिम्रो घरमा फेरि
छाड्न अन्तिम यात्रासम्म तिमीलाई ।
त्यो सङ्घर्ष तिम्रो
मृत्यसित,
असहाय भई हेरें
र तिमीलाई जिताउन पनि
बाबा ! कति चाहें
तर, केही लाग्दो रहेनछ यहाँ
जीवनभरि सङ्घर्ष गरेर
कतै विजय पाए पनि
सबै हार्दा रहेछन्
मृत्युसित त्यहाँ ।
तिमी पनि ढल्यौ
तिम्रो ढलेको निर्जीव शरीरको
त्रास मनमा अझै बाँकी छ
त्यो चितामा राखेर
तिम्रो मुखमा आगो दिने
हक मेरो भएन
दिन सक्ने पनि थिइनँ
जन्मेदेखि माया गरेको शरीरलाई
आफैले सल्काउनु
एउटा कठोर दण्ड हो ।
कति क्रूर बनायौं हामीले धर्म अस्तित्वको
यहाँ खोजीखोजी यातना दिइन्छ
बाँच्नेलाई
मर्नेको निहुँ लिएर ।
यो मरेको संस्कारले
बाँच्नेको साथ दिने पनि छैन कहिल्यै ।
पीडा त यसै पनि पीडा हो
फेरि किन हुँगीठेगी दुखाउँछौं
यो वियोगको घाउ यसरी ?
छाडिदेऊ मलाई एक्लै केही आँसु झार्न
केही सम्झन
केही बिर्सन
कोही गयो मेरो
कोही छुटयो मेरो
केही लुटयो मेरो ।
अब त राख्न चाहन्छु
सब सँगाल्न चाहन्छु
बटुलेर मनको तहतहमा
उसको माया मात्र ।
ए मेरा पिता ।
तिमीले रोपेका थियौ बीउ आफ्नो
र बिरुवा हामी तिम्रो
कतै सारिएर आज
वृक्ष भई उभिएकी छु म ।
यहाँ वनस्पतिको पनि
आफ्नो पहिचान हुन्छ
म त जीवित प्राणी
तिम्री छोरी
किन लगाउन सकेनौ
मलाई आफ्नो बंशको हीका ?
तर तिमीले जीवनभरि कमाएको सम्पत्ति
तिम्रो कलम
विरारतमा पाएँ मैले ।
मैले नै बोकेँ त्यो अभिभारा
म नै बोक्नेछु त्यो जिम्मा
म नै बुझ्नेछु
तिम्रो सङ्घर्षको
सुखदुःख, मानअपमान
र पुर्याउनेछु
कुनै लक्ष्यसम्म
तिम्रा अकाङ्क्षा ।
ए मेरा पिता !
तिमी बाँचेका थियौ
आफ्नो कलममा
तिमी बाँच्नेछौ
ती कृतिमा
र तिमीलाई जीवित राख्नेछु फेरिफेरि
म आफ्नो कलमले ।
यो कलमको नाता हाम्रो
वंशजको सबै निर्णयलाई
चुनौती दिँदै छ
प्रश्न र अंश र हकको हैन
उत्पत्ति र पहिचानको हो
तिमी मुहान मेरो
बगेका छौ तिमी ममा
यथोचित ! ए मेरा पिता !!