रगत बोलिरहेछ .... / विष्णु न्यौपाने
प्राण टुक्रयाएर आफ्नै,
जीन्दगी बेचिरहेछौ तिमी ।
नुन–तेलमा धर्ती साटे झैं सस्तै ,
लालसमा सन्तान साटिरहेछौ तिमीे ।
आत्मरक्षाको चिराग राष्ट्रले सल्काउँदा
आफ्नै अस्तित्व मेटिरहेछौ तिमी ।
सन्ततिका ऐठन माथि पीडा प्रक्षेपण गरेर
कति चढाउँछौ द्यौरालीमा मान्छेका बलीहरू ?
रगत ब्युँतिएर इतिहाँस लेख्ने छैन बुद्धत्वको ।
शान्तिका स्वर्णाक्षर रगतको कलमले सिर्जने भए
ए राष्ट्रका हिमायतीहरू हो...
किन बर्षन्छन् नागासाकीमा
लाखौ अष्टबुद्धका आँसुहरू ?
आलो बाफले मुक्ति खुल्दथ्यो भने
किन धिक्कारीरहेछ हिरोसिमा अझै
लालसी शासकहरूलाई ?
तिम्री आमाका स्तनहरूलाइ सोध
साँच्चै के चाहिरहेछ दुधको भाराले ?
कुनै दिन तिम्रै गर्धन पट्टि फर्कन सक्ने
खुँडाका धारहरूलाई सोध
के उत्तर खोजिरहेछन् तमाम चित्कारहरूले ?
साँच्चै के लेखिरहेछ तिम्रै रगतको कलमले ?
हुन त के टुसाउला र बौद्धिक्ता
यहूदी प्युने बगरे माटोमा ?
जहाँ भन्थ्यौ रे तिमी
‘के मान्छे नै थिए र
ती मारिएका साठीलाख यहूदी पनि ?’
तिमीले बेचेका निकम्मा आश्वासनहरू
तिमीले साटेका भयबादी आत्माहरू
राष्ट्रका भार बनेर ताण्डव नाचिरहेछन् अहिले ।
तिमीले उमारेका आतङ्कका मूलहरू
नदी बनेर भिजाइरहेछन् देशका कुना कुना ।
आखिर के फल्दोरहेछ बन्धुको रगत सिंचिएको माटोमा ?
के उमं्रदोरहेछ मित्रको शरीर पुरिएको खाल्टोमा ?
धिक्कार छ तिम्रा क्रान्ति गर्ने हातहरूलाई
जसले तिम्रै सन्तानको भविस्यलाई सताव्दीलामो
अन्धकारमा धकेलीदियो ।
धिक्कार छ तिम्रा क्रान्ति दवाउने सैलीहरूलाई
जसले राष्ट्रलाई कुँजो बनाएर
कलङ्कको इतिहासले रंगाइदियो
अव त चेत आइदिए हुन्थ्यो
तरवारले होइन
कलमले देश बलियो बन्न सक्छ भनेर ।