कर्तव्यको एउटा कुची
तस्वीर जो कोर्नु थियो अरुकै,
आफ्नै अनुहार
नियालेर हेरिनछु कहिल्यै,
कहिल्यै उभिएको धरातलसँग प्रश्न पनि गरिनछु ।
आफ्नो कुरुप सन्तानलाई
हर्षले स्वीकारेकी आमाजस्तो
आफ्नै आत्माको आवरणसम्म सिंगारिनछु
आज हिसाबमा बसेकी छु ।
यसरी कहाँ सोचेँ
भुइँमा राख्नै नहुने
हतियारको बोझजस्तो हुँला म,
उदाङ्गो रहस्यको
कुने खोज हुँला म ?
यो जिन्दगी
कसरी उदायो दिनसँग
र सुत्यो रातजस्तै जस्तै
त्यो पनि हिसाब गरिनछु,
रुवाजस्तै कञ्चन थिँए
सपनाका भुवाहरु,
कुन गतिहीन बतासले
कता उडायो
त्यो पनि समेटिनछु ।
आज त किनमेलका बुँदाहरु छन्,
सन्तानका गुनासाहरु छन्
आफन्तका सन्देशहरु छन्,
हाम्रा बातचीतका शीर्षकहरु
कहिलेदेखि टुङ्गिएछन्
त्यो पनि सम्झन सकिनँ ।
भावनाको पोखरी
अतृप्त सुकिसकेछ कहिलेदेखि
त्यहाँ पनि डुबिनछु,
आफ्नै मनसँग पनि
आँखा जुधाइनछु ।
दौडमा त कहिल्यै
कुदाएन आकांक्षाले
अरुअरुलाई जिताउनु थियो,
अरु सबैलाई उडाउनु थियो,
म त गुँड रुँगेर बसेको
एउटा असक्त चरी,
आँखा भएर
आँखै नदेख्ने जस्तो पो छु,
म कहाँ थिएँ ?
कहिल्यै आफ्नो
सम्झना पनि गरिनछु ।