म त्यहीँ थिएँ
एकदम त्यहीँ –तिम्रो आसपास
टोलाइरहेको –उदास एक्लो र निरीह
भव्य महलछेउ जोडिएको छाप्रोजस्तो
ठूलो रूखमुनि
तप्केनी सहेर नसप्रेको बिरुवाजस्तो
म त्यहीँ थिएँ– बत्तीमुनि अँध्यारोजस्तो
म त्यहीँ थिएँ
कुनै दन्त्यकथाको श्रापित पत्थरजस्तै
वषौँदेखिमलाई प्रतीक्षा थियो तिम्रो स्पर्शको
अनेकजीवन बिताएँ हुँला
म व्युझिने तिर्सना बोकेर यहां
तिम्रोछेउ
तर, तिमीबाटै छेकिँदै तिमीबाट हेपिँदै
त्यसरी बिर्सिन्छन् मानिसहरू मलाई
जसरी सम्झना हुँदैन
घर पुगेपछि बाटोमा बास बसेको पाटी
यात्रामा बिसाएका कैयन् ढुङगे चौतारी
प्यास मेटेको सङ्लो जरुवा
वा बाटोमा छोडिएका पाइलाका डोबहरू
म त्यहीँ थिएँ तिम्रै वरिपरि
कैयन् जुनी भौतारिँदै हिडेहुँला नभेटेको प्रेम खोज्दै
अतृप्त, अशान्त र असहाय
बयरका काँडामा अल्झेर रगतपच्छे भएँहुँला, अल्झेहुँला साँझहरूमा
कहिले बाटो भुलेर थाकेहुँला बगरहरूमा
भत्किँदै गएको देवलजस्तो मलाई सम्भार गर !
म अनन्त सम्भावनाहरूको उज्यालो ढोका
कुनै सुनौलो चाबी लिएर प्रवेश गर मेरो हृदयमा !
वर्षौँदेखि कुनै कुनामा थन्क्याइएको
धूलै–धूलोको
पत्रले छोपिएको म एउटा सारङ्गी
मलाई सुम्सुम्याऊ र निकाल एउटा प्रिय धून !