ढुङ्गामाथि ढुङ्गा छ
एउटा पर्खालभरीको मान्छे
ढुङ्गाभरि सोच्छ
ढुङ्गाभरी हिड्छ
र आफू ढुङ्गा भएकोले
डुल्छ आफूभरी
कुनै शहरले वास पाएन
उसको आँखामा
र उसले कुनै शहरमा वास पाएन
केवल ढुङ्गा छ र ऊ छ,
उभित्र ढुङ्गाहरु जन्मिन्छन् रे
र तुहिएका ढुङ्गाको जङ्गल छ भन्छ,
सपनामा पनि पत्रेदार चट्टानमा गुम्सेर
आउने साँझलाई राक्षस भन्छ
र मेरो मान्छे
शीरमाथि डाँडा बोकेर
आफूलाई 'एटलस' भन्छ
यो उसको घोषणा
ढुङ्गामा ठोकिएर गुन्जिन्छ
र, गुन्जिएर ढुङ्गाको अक्षर हुन्छ
एउटा शोक गीत पर्खालभित्र
बेवारिस मर्छ
र सँधै एक्लो भएर
ढुङ्गामाथि बाँच्छ
ढुङ्गामाथि ढुङ्गा छ
एउटा पर्खालभरीको मान्छे
ढुङ्गाभरी हेर्छु
ढुङ्गाभरी सोच्छ
ढुङ्गाभरी हिड्छ।