Last modified on 23 अगस्त 2016, at 09:27

भ्यालेन्टाइन्स् डे / मनप्रसाद सुब्बा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:27, 23 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हृदयहरूको बजार यो
अर्थात् हार्टहरूको हाटबजार ।
सँधै नै लागिरहन्छ यो
तर आज अझ ठूलो लागेको छ ।

क्युपिडको काँड रोपिएको यौटा मुटु
हिजै किनेर ल्याइराखेकोछु ।
त्यो आज पठाउनुछ मेरो फेशनेबल वर्तमानलाई ।
शब्दहरू छन् त्यसमा रेडिमेड गुलियो भावको ।
लेख्नलाई घोरिरहने लन्ठै छैन ।
रेडिमेड भावहरूको निकै भाउ छ बजारमा ।

मुटु भनिने मासुका डल्लाहरूमा अचेल
रोपिँदैन क्युपिडको कोमल काँड ।
बरु दोब्रिएर कुत्कुती मात्र लागिरहन्छ ।

पोहोर यै दिनको यौटा निम्तोमा जाँदा
उसको कोठाभित्र
रातो बलुन-मुटु हावामा हल्लिरहेथ्यो ।
फर्किने बेलामा
मेरो स्याडिस्ट ठट्टाको काँटीपिनले
त्यो उत्तेजना फुल्लिएको बलुनमा
प्वाल पारिराखेको थिएँ ।

आज फेरि
यो वर्तमानको नाइटोमा
यौटा भ्यालेन्टाइन म्वाइ खाइदिनुछ ।