महाशय,
तिमीले भनेको त्यो पूर्ण स्वतन्त्र मान्छे
कहाँ छ ? खै कहाँ छ ?
कतै जान खोज्ने पाउहरू
पासोमा परिरहन्छन्
आँखैआँखाका पर्खालहरू छन्
पर्खालपछि पर्खाल
नाघेर पनि नाघिनसकिने
चाहना समात्न उठेका हातहरू
कसले हो तलबाट तलै तानिरहन्छ
चोर औँलाहरू ठडिएर
अग्लो फलामे बार उभिन्छन् –
खबरदार ! लाखेस !
पखेटा उम्रिन्छन् दुइ कोखिलाबाट
अनि उड्छु म
तर उड्दा उड्दै
प्राचीन देवदत्तको काँड पखेटामै लागेर
खस्छु
म
तल
देवदत्तहरूको भीडमा / जहाँ
तर दयालु सिद्धार्थको छायाँ पनि छैन ।
बस्, आवाजै आवाजको घेराबन्दी
या त मौनताको चिसो कारावास ।
समुद्रको छातीबाट रहरहरू उठेर कुद्छन् किनारतर्फ लहर लहर
तर समुद्रले नै फेरि किनारबाट पछिल्तिर तानिरहन्छ लहरको स्वतन्त्रतालाई
+ + +
अरे ! हेर त,
बिजुलीको बील तिर्न लामो क्यूमा उभिने त्यो मान्छे
सार्त्रे नै होइन र ?
उसलाई हिजो मैले
दवाइ दोकानमा पनि देखेको थिएँ
हातमा प्रेस्क्रिप्सन लिएर पालो पर्खिरहेको...