निमग्न भएर आफैंमा
सल्बलाइरहेछन् आंैलाहरू तारमाथि,
कुनै तपस्वीजस्तो – हराएर आफैंभित्र
कसरी उठाइरहेकी
यतिविघ्न सुमधुर तरंगहरू ?
पर्दा खस्छ – परेलीजस्तो
पर्दा उठ्छ – परेलीजस्तो
हावा बग्छ
कि बग्छन् रागहरू परिवेशमा ?
गुन्जन्छ संगीत
कि खस्छ कुनै कथा टुक्रा–टुक्रा भएर ?
यो प्रतिध्वनि त्यो सितारको
कि सिम्फोनी पीडाको ?
खसिरहेछन्
अंगुरका झुप्पाजस्ता शब्दहरू – उठाइरहेछु
तैरिरहेछन् आँसुहरू बतासमा – समेटिरहेछु,
चुपचाप उभिएको छु एक छेउमा
अस्थिर छु ! उद्विग्न छु !!
हिर्काएको तारमा हो कि मेरो मनमा
कतै फैलिरहेका यी झङ्कारहरू
मेरै ह्रदयका कम्पन त होइनन् ?