हायुनी बूढी
भग्नावशेष दरबारको
आँगनमा पलेटी मार्छे र गन्छे
महाराजाधिराजले चन्दा दिएका केही रुपैयाँ
र आफ्नो उमेर ।
छेउमै चौकी छ
पुलिस आँखा छल्छ र ध्वाँसे बोको घिसार्छ
हायुनी बूढी
चाउरिएका गालामा आँसु झार्छे
र उम्रेको रहर मरेको खत देखाउँछे
‘खायो नि नानी चितुवाले ध्वाँसेलाई !’
हायुनी बूढी
गुराँसका राता फूलहरू टिप्छे
र भत्केको भित्तामा लेख्छे –
‘श्री श्री श्री श्री श्री !’
भित्तामा कसैले अँगारले कोरेको छ –
‘राजतन्त्र मूर्दावाद !’
जमानाकी सुन्दरी हायुनी
हेर्छे दरबारलाई
र आफ्नो सौन्दर्यलाई ।
पछिल्तिर
तान्दै छ कोही जस्ताको पाता
कुखुराको खोर छाउन
अघिल्तिर
गन्दै छे हायुनी बूढी
महाराजाधिराजले दिएको चन्दा र आफ्नो उमेर ।
००
(किशोरी वयमा सिन्धुलीगढी दरबार छिरेकी हायुनी बूढी जीवनको अन्तिम अवस्थासम्म एक्लै एकान्तको त्यो भग्नावशेष दरबार कुरेर बसिन् ।)