युगौँदेखि बेथितिको कुहिरोभित्र अल्मलिएको विवेकले
बुझ्न सकेन
समयका गीत र आगतले बोलाएका आवाजहरू।
दौडिन खोजेका गति ठोक्किएर दुर्घटना भोग्न अभ्यस्त मानसिकताले
आँट्न सकेन लक्ष्यसम्मको हिँडाइ।
केटाकेटीका भविष्य जलिरहेको समाचार सुन्ने कानले
सुन्न जानेनन् तोतेबोलीका सङ्गीतहरू।
युवतीहरूका चुरासँगै फुटिरहेका सपना र
सिन्दुरसँगै मेटिइरहेका रहरहरू देख्न पारङ्गत आँखाहरूले
देख्न जानेनन् यौवनका मनमोहक रङ्गहरू।
बुझ्न जानेनन्
सृष्टिको कठोरतालार्इ पराजित गरी उम्रिँदै गरेका जीवनहरूलार्इ।
यस्तो लाग्छ
घरघर माग्दै बटुलूँ सारा रेडियो र टेलिभिजनहरू, र
पत्रिकाको रासमाथि थुपारेर जलाइदिऊँ
थोत्रे समयको कन्टेनरसँगै।
थाह पाएदेखि सधैँ बिना गन्तव्य बराल्लिँदै हिँडेका पैतालाबाट
खुर्किऊँ पुराना बाटाका सबै डोबहरू।
मेटाऊँ स्मृतिबाट अनुभवका सबै चित्रहरू ।
एउटा भाँडो यस्तो होस्
जसमा चुर्लुम्म चोबेर समयलार्इ
एउटा नयाँ युग निकालूँ।
सदियौँदेखिको विसङ्गतिमा हुर्किएको टाउकाले
बोक्न सकेन नयाँ विचारहरू।