झमझम
जब पग्लिन्छ आँसु आकाशको
रुझेर पहाड सोचमग्न हुन्छ
उही अगस्त ९ सम्झिरहेको नागासाकीको
कुनै बुढो
राष्ट्रवादी नागरिकजस्तो,
हेर्छ कहिले
चक्रपथछेउ लहरै उभिएका
सैनिकजस्ता पैयुँका बुटाहरू
कहिले, एक्लो ठिंग उभिएको
बाँसजस्तो धरहरा र पलाउँदै गरेको
तामाजस्तो गजुर,
अनि आकाशमा मनलागी
उडिरहेका बादलका सेता परेवाहरू,
चम्कन थाल्छन्
कमलका दियोहरू कतै साँझपख तलाउमा
जोडतोडले हाम्फाल्दै आत्महत्या गर्छन्
विरक्त तन्नेरी झरनाहरू पहराबाट,
आकाशको सपाट सिउँदोमा
इन्द्रेनीको सिन्दुर हालेर भाग्दै जान्छ
विवश लाहुरे घाम पनि
टाढा–टाढा अँध्यारोको
संकटग्रस्त बोस्निया हर्जगोभिनातिर,
पर पहाडका भित्तामा गाउँहरूमा
रातविरुद्धको युद्धमा टिलपिलाउँदै सहिद हुन्छन्,
किशोर गाउँले दियालोहरू,
झरीमा
टालाउँछे कुनै विरहिणी
थोपा–थोपा आगोका लप्काहरू खस्छन्
र काम्न थाल्छन् रूखका पातहरू
हिँडेको त्यो सुखको बाटो
र विश्वासको एउटै छाता !
ओत लागेको त्यो मन्दिर
र भिजेको स्वप्नको सप्को !!
तर्न बाँकी संघर्षको नदी
र सिउरेको सम्झनाको फूल !
झरिरहन्छन् झरीमा भुलिसकेका यादहरू !!
एकाग्र भएर कोतपर्व पढेको बेला
ढोकामा टकटक कसैको
झसंग ! जंगबहादुर नै आएजस्तो
झरीले सम्झना गराउँछ झरीहरू
झरीले ढक्ढक्याउँछ ढोका मनको
र खोज्न लगाउँछ
उही झरीलाई – झरीमा,
टाढा बजिरहन्छ भयानक संगीत
र पहाडले मस्तसँग चुरोट पिएर
धुवै–धुवाँ उडाउँछ बादल
अनि भावुक मनका प्रदेशहरूमा फेरि
फूलले गरेजस्तो कोमल र घातक आक्रमण गर्छ
झरीले – झरीमा !