यो क्षण सँगै छौं हामी शिविरमा
बाँड्दैछौं एकआपसमा सुखको पसर
र सुनाइरहेछौं
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू,
जब हुनेछ समय
हामी निस्किनेछौं यो गुफाजस्तो शिविरबाट
लाग्नेछौं आ–आफ्नो बाटो
आफूलाई कुनै बोझिलो भारीजस्तो
यतैकतै बिसाएर,
कति भेटिए दोबाटोमा
हेर्दाहेर्दै कति छुटे यो शिविरबाट
कि रहन्छन् यादहरू
कि रहन्छन् – सधैंका साक्षी
यो दुःखजस्तो आदिम पहाड,
प्रेमजस्तो बिसाउनी,
जिन्दगीजस्ता उकाली, ओराली र कुइनेटाहरू
अनि बैंस छँदै विछोडिएको निरीह प्रेमीजस्तो
मुलबाटोसँग छुटेर पनि
कदाचित छुट्टिन नसकेको प्राचिन गोरेटो,
हामी सबै त फर्किनेछौं त्यसरी
जसरी हिँडेका छन् अनगिन्ती बटुवाहरू
हामीभन्दा पहिल्यै बास बसेर यो शिविरमा,
हामी हिँडेको बाटोमा
फेरि बज्नेछ अरू कसैको पदचापको संगीत
उस्तै हराभरा रहनेछन् – जीवनका फाँटहरू
रंगीन–रंगीन हुनेछन् – शिविर साँझहरू
अहँ ! केही रित्तिनेछैन
कोही नहुँदैमा केही सिद्धिनेछैन
वृक्षले पालुवा फेरेजस्तो
फेर्नेछ शिविरले नयाँनयाँ अनुहारहरू
र पुरानिँदै भूतपूर्व हुनेछन् सम्पूर्ण उपस्थितिहरू,
शिलालेखमा मेटिनेछन् अक्षरहरू टुक्रिएर
रङ झर्नेछ तस्बिरहरूबाट
हामीले टेकेको धुलोमाथि बन्नेछन् नवीन डोबहरू
अरू कसैको पाइतालामा टेकिएर
र समयले आफैं गाड्नेछ – आफ्नो अस्तित्वको
रक्तिम झन्डा
त्यसबेला – इतिहासको पनि इतिहास हराउनेछ
इतिहासबाट !
यो क्षण सँगै छौं हामी शिविरमा
बाँड्दैछौं एक–आपसमा सुखको पसर
र सुनाइरहेछौं
दुःखका अन्त्यविहीन दन्त्यकथाहरू ।