हुलाकघरको एउटा कुनाको प्लेटफर्ममा बसेर
हेरिरहेछु – मान्छेजस्ता
ओहोरदोहार गरिरहेका चिठीका
लस्करहरू,
हिँडिरहेछन्
अनुहारमा कतै कालो दाग बोकेर चिठीहरू
कतै पिठ्युँमा
पीडाको निलो झोला बोकेर
कतै शिरमा – खुसीको टोपी
कि विरहको थोत्रो टिनको बाकस
थामेर हिँडिरहेछन् चिठीहरू,
कुनै प्रेषकले चिठीसँगै खामेर पठाएका
खसेका छन् एकजोर आँखाहरू टेबुलमुनि,
पत्र–मञ्जुषा भरिएको छ आज
थोपाथोपा रोएको आँसुले,
साँचो घुमाएर खोल्नेछ कसैले त्यो
ह्वालह्वाली बगेर निलो दाग बस्नेछ भुइँभरि,
पोख्न नसकेको माया
गर्न नसकेको अव्यक्त कुराहरू
र सुनाउन बिर्सेका केही अधुरा कथाले
डम्म भरिएका छन् पोस्टबक्सका गहहरू,
रित्तो–रित्तो खाम बोकेर हातमा
सोध्छे एउटा अधबैंसे आइमाई
सात समुद्रपारिको खसमले सम्झेर पठाएको
कहाँ हरायो यो भीडमा
कहाँ हरायो बाबु ! मेरो नाबालक चिठी ?