Last modified on 16 मार्च 2017, at 08:36

कोलाज / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:36, 16 मार्च 2017 का अवतरण


सहिद (रातो–१)

इतिहासका पन्नाका क्रममा
टाँगिएको त्यो जिसस
क्यालेन्डरको मात्र एक दिन उसको
अहो ! मान्छे मरेपछि
कति कमजोर हुँदोरहेछ  !


इतिहास (कालो–१)

आफ्नै छोराको मृत्युको खबर सुनेर पनि
मञ्चमा नाच्न बाध्य कुनै नर्तकीजस्तो भएर
घन्टाघर साक्षी छ !
हामी उनै वीर पुर्खाका
बहादुर सन्तानहरू हौं ।
 

सम्झना (निलो–१)

वर्षौंदेखि
तिमीलाई उही रूपमा पाइरहेछु, गुमाइरहेछु
पखेरोको सिरानी हालेर मस्त निदाएका
गोरेटोछेउ उभिएर
ती गोठालाले फुकेका मुरलीका स्वरमा
कतै तिम्रो आवाज सुनिरहेको हुन्छु
र उग्रयारहन्छ मेरो सम्झना– अतीतको
हरियो चरनमा
यी हेर स्मृतिका छरपष्ट तर नओइलिने
झन्झन्ब ढ्दै जाने कलिला दुबोहरू ।


आग्रह (सेतो–१)

बाहिर अँध्यारो छ – यसबेला
घरसम्म पुग्छु भन्छौ
आफूभित्र उज्यालो बालेर हिँड्नु,
त्यसलाई हुरीले केही गर्दैन
झरीले फरक पर्दैन
बाटो, बाटो त हिँड्नेहरूलाई त हो !


चश्मा (कालो–२)

कालो चश्मा लगाउने मान्छे
देख्छ – धमिला पहाड
अँध्यारो बाटो र कालो अंगारको झरी
खाली कालो घाम देखेको उसले
देख्दैन – छेउबाटै
हिँडिरहेका कर्मशील कमिलाहरूको पंक्ति
र इन्द्रेणीजस्तो रंगीन जिन्दगी ।


प्रवाह–चिन्तन (रातो–२)

बग्न त जसरी पनि बग्छु म
नदी भएर बगूँ
झरी वा बतास भएर बगूँ
सपनामा पनि जब कुनै सपना देखिरहेको हुन्छु
तर म बगिरहेकै हुन्छु !


समय (निलो–२)

कौसीमा सुकाएको
चित्रको पहाड
रातभरिको झरीले बगाएर लगेछ !
बिहानमा – टोलाइरहेछ विचरा चित्रकार
फेरि त्यस्तो चित्र
बन्न पनि सक्छ, नबन्न पनि सक्छ  !