वर्षाको एकदिन, हिंड्दाहिंड्दै
बीच बाटोमा भासियो एक युगनायक र सालिक बन्यो
अचानक, हाहाकार फैलियो सहरमा
पछ्याउँदै सनसनीपूर्ण खबर ओइरिनथाले मान्छेहरू
जजसले छोए वा हेरे त्यो सालिकलाई
ती सबै– हिड्दै गरेकाहरू पूर्णकदका, बसिरहेकाहरू
अर्धकदका सालिक बने, सालिकै सालिकले भरियो सम्पूर्ण सहर
र बाटोको छेउमा बग्यो भेल सालिकहरू रोएको आँसुले !
सालिकहरूले हेरे चुपचाप
धारामा खुकुरीको रगत पखालिरहेको युवक
शिर गिडिएका आमाबाबुको रगतको आहालमा
रुँदारुँदै निदाएका अबोध नानीहरू
र गैंतीले बालुवा कोट्याउँदा निस्केका मृत मानिसका तरुलजस्ता
हातगोडाहरू,
धपाउन सकेनन् सालिकले
उनीहरूकै काँधमा बसेर बिस्ट्याइरहने गिद्ध
र अनुहारमा भुन्भुनाइरहने हरियो झिँगा
शब्दबिनाकासालिकहरुको आँखामा अझै निख्रिसकेको छैन
सपना, कोही आउँनेछ एक दिन
व्युझाउँनेछ सम्पूर्ण सालिकलाई आफ्नो स्पर्शले
फेरि जीवन फुल्नेछ सहरमा, मनाइनेछ उत्सव
अघि अघि लाएर झाँकीहरू, घन्किनेछ तुमुल ध्वनि
जिन्दगी जिन्दावाद !!