फुकाल्न हुन्न यो आफूलाई आफ्नो कोटझैँ
केही विश्रान्ति र धूलोबाट मुक्त हुन 
टाटैटाटा डोबहरू आफ्ना, अरूका
हातखुट्टा र अनुहारहरूका ।
उघार्न हुन्न न त आफ्ना लुगाका सिउनीहरूलाई झैँ 
कि सोचूँ नयाँ सिर्जनाको नयाँ खाका
कि सोधूँ पुरानो सिर्जनाको सीमाबद्धता । 
धूलो उड्छ— उड्छ आफ्नै टेकेकोबाट
डोब र अनुहारहरू उत्रिएर आउँछन् आफ्नो परिचयबाट
र सीमाको बद्धता हुन्छ आफ्नै थकाइबाट । 
हराउने ? खै, कहाँ हराउने र ?— 
परिचयले ढाकिएको यस बस्तीमा
अनुहार उत्रिएको यस ठाउँमा । 
हाम्रो निद्रा कति पातला 
खप्टै खप्ट्याउँछु निद्रा दिएर 
एकपछि अर्को क्षणमा
र एकपछि अर्को रातमा ।
यो माकुराको जाल
कति पातलो, कति सुन्दर 
चिच्याउनु हुन्न, न त सारो कराउनु हुन्छ 
चुँडिन्छ यो मन मनैभित्र
कुरुपिन्छ यो मन मनैभित्र 
यो मन कस्तो?
उफ्। कसरी खजमजाउन सक्छ 
आफ्ना सन्तोषका सतहलाई 
आफ्ना सीमाका साँधलाई
सन्तोष जो रोपिएन एउटै ठाउँमा 
र जो लिएन एउटै रूप
इच्छा जो बढ्यो माछाझैँ 
ठूलो–ठूलो हुँदै सानो माछा खाँदै
सीमा जो तरङ्गिइरहन्छ बेर्दै–बेर्दै माछालाई 
बेर्दै–बेर्दै सम्पूर्ण पोखरीलाई।
यस आकाशभरिको प्रकाशको विकिरण 
मेरो आँखा मानौँ एउटा पोखरी
म अङ्गीकार गरिरहेछु
मात्र लट्ठिन थकाइबाट, आफ्नो अनुहारबाट 
सूर्यको उदाउनु र अस्ताउनु
मात्र बिउँझनु र सुत्नु 
रेखाबद्धता सीमाको
जो बाँध्न सकिएन यी पाखुरा र पिडौँलामा,
बिउँझनुको एउटा विवशता 
जस्तो हिँड्नुको एउटा अतिक्रमणता
आफ्ना सीमाबद्धताहरूमा 
जन्मनुको सीमाबद्धता 
वर्षौं–वर्षौं साँध–सीमा लगाउँछ । 
मौन र स्थिरता एउटा मृत्यु 
हामी मात्र एउटा बीज
जो फस्टियो अनेक हाँगा र उपशाखामा 
हाम्रो सुस्केराहरूका माझमा
हामी एक्ला बीज
उभिइरहेछौँ सम्भ्रममा आफ्नै रूखको छहारीमा 
आफ्ना इच्छाका छायाहरूमा । 
यो बुद्धको बोधिवृक्ष र यो बुद्धको निर्वासन ।