एउटा भ्रमको जिन्दगी भोगिरहेछु
सुन्दर सपनाहरू
किन आँखाभित्र सुतिदिन्छन्?
निर्लज्ज रातहरू
किन आँखाभित्र सशङ्कित भएर सलबलाउँछन् ?
सूर्यले उज्यालो घाम
आँगनभरि पोखिदिन्छ
रात फेरि सशङ्कित हुन्छ
रातले उज्यालोसित
मितेरी लाउन मन पराउँदैन ।
अँध्याराले अँध्यारो खोज्छ
उज्यालोको आगमनमा
रात सधैँ रोएर जान्छ
रात रुनुको अर्थ
मलाई थाहा छैन
दिन हाँस्नुको अर्थ पनि मलाई थाहा छैन
तर
रुनु र हाँस्नुका
आ–आफ्नैअ र्थहरू छन्
भोगाइका आवेग पनि
छुट्टाछुट्टै हुन्छन्।
रात त मलाई पनि मन पर्दैन
सिङ्गो आकाश पनि कालो देखिन्छ
अँधेरो रातभित्र
मान्छेको भाग्य पनि अँधेरो लाग्छ
अँधेरो रातभित्र
तर, जिन्दगीको भोगाइ
बेग्लाबेग्लै बाटाहरू
भिन्दाभिन्दै उद्देश्यहरू
छुट्टाछुट्टै क्यानभासभित्रका चित्रहरू
किन ?
आ–आफ्ना व्यथाहरू
यसरी पोखिदिन्छन्
अँध्याराको खापा खोलेर
किन ?
आफ्ना दृष्टिचित्रहरू प्रस्तुत गरिरहन्छन्
क्यानभासभित्रका अत्याधुनिक चित्रहरू
रङ्गमा रङ्ग थपेर… ।