१.
चट्टानहरू अग्लिए हिमाल बन्छन्
चट्टानहरू अग्लिए पहाड बन्छन्
चट्टानहरू गहिरिए
जीवनका सागरहरू बन्छन्
जीवनका नदीहरू बन्छन्
तर जीवनका सागरहरूले
जति खियाए पनि
चट्टानहरू खिइँदैनन्
तर जीवनका नदीहरूले
जति काटेपनि
चट्टानहरू काटिँदैनन्
२.
चट्टानहरू आफ्ना छातीमा
सागरका कविता रचना गर्छन्
चट्टानहरू आफ्ना छातीमा
नदीका कविता रचना गर्छन्
सागरका कविता रचना गर्दा
चट्टानहरू अलिकति खिइन्छन्
नदीका कविता रचना गर्दा
चट्टानहरू अलिकति काटिन्छन्
तर चट्टानहरू आफू खिइनुलाई
आफू खिइनु भन्दैनन्
तर चट्टानहरू आफू काटिनुलाई
आफू काटिनु भन्दैनन्
३.
चट्टानहरू जीवन–उत्सर्गहरूमा
सागर भएर
सागरहरूसित खिइन्छन्
चट्टानहरू जीवन–बलिदानमा
नदी भएर
नदीहरूसित काटिन्छन्
कारण चट्टानहरूबिना सागरहरूको
कुनै रूप हुँदैन, आकार हुँदैन
कारण, चट्टानहरूबिना नदीहरूको
कुनै रङ्ग हुँदैन, गति हुँदैन
जीवनका सागरहरू र नदीहरूलाई
सागरहरू र नदीहरू बन्न
चट्टानहरूको माया चाहिन्छ
चट्टानहरूको समर्पण चाहिन्छ
तर चट्टानहरू
आफ्नो मायाले
जति खिइए पनि
चट्टानहरू नै हुन्छन्
अरू केही हुँदैनन्
तर चट्टानहरू
आफ्नो समर्पणले
जति काटिए पनि
चट्टानहरू नै हुन्छन्
अरू केही हुँदैनन्।