जसमिन क्रिस्टी, आफू उभिएको प्यारो भूगोल
अन्तालियाको नाममा
धरतीका सारा सुन्दर उपमाहरू उद्घोष गर्दै गई—
“सधैँ प्रसन्न र प्रशान्त
विस्तार र गहिराइको अनन्त
भूमध्यसागरीय आकर्षण
टर्कीसीमासम्म फैलिएको समुद्री किनार
षोडशीझैँ सुन्दर अन्तालिया
मानौँ यो सुन्दर मौसमसँग
आफ्नो सुन्दरताको दाबी गरिरहेछ… ”
तर, प्रिय जसमिन ।
धरतीकै स्वर्ग भने पनि
अन्तालियाभन्दा मलाई
तिम्रो मनको भूगोल सुन्दर लाग्यो
जसमिन मलाई गाइड गर्दै गई
मानौँ, एउटा मादक मूर्तिका साथ कलासहर पेरिसमा
म, एक्लो तस्बिर खिचाउँदै छु
कहिले यस्तो लाग्थ्यो
कि ब्रह्रमाले प्राण भरेर
मानौँ, मेरो सेवामा भर्खरै पठाएजस्तो
हात समातेर तान्दै
जसमिन मलाई भनिरहेकी थिई—
“धरतीको यो सुन्दरतालाई तिमी कैद गरिरहेछौ।
या सुन्दरताले नै तिमीलाई कैद गरिरहेछ ।।”
तर, प्रिय जसमिन ।
यो पर्यावरणीय सुन्दरताले भन्दा
मेरो हिमालजस्तो तिम्रो मुहारमा सजिएको
मेरो रारा र फेवाजस्तो तिम्रा आँखाको भूगोलले
मलाई कैद गरिरहेछ… ।
माफ गर जसमिन ।
तिम्रो भूमिका लागि समर्पित
तिम्रा सारा उपमाहरूभन्दा
मेरो पहाडी झर्नाझैँ सलल बगेको तिम्रो केशराशि
मेरो हिमाल पग्लेर बगेको
कञ्चन पहाडी नदीजस्तो तिम्रो मस्त चाल
मेरै देउरालीमा लालीगुराँसझैँ फक्रेको तिम्रो मदमस्त यौवन
मेरो गाउँभरि लटरम्म झुलेका सुन्तलाका केस्राजस्ता
मधुमस्त तिम्रा ओठ
रानीवनको कुहू–कुहूजस्तो सङ्गीतबद्ध तिम्रो मुस्कान
उहिल्यै साहिँली मोरीले प्रेमले दिएको
आलो नौनीजस्तो तिम्रो महकिएको सौन्दर्य
र, नीलगिरिबाट चियाएको पूर्णचन्द्रजस्तो तिम्रो कौमार्यको भूगोल
मलाई झनै सुन्दर लाग्यो… ।