Last modified on 9 मई 2017, at 13:56

जलदेवीको गीत / विप्लव ढकाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:56, 9 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विप्लव ढकाल |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

रातभरि
आँसुले नुहाइदिएर
सुकिलो बनाएको जून
कहाँ पुगिसक्यो !
कोक्रोमा सुताएर
तेल घसीघसी
हुर्काएका ताराहरू
कहाँ पुगिसके !
बिहानै डोलीमा राखेर
कलिलो बेहुलोजस्तो घामसँग
अन्माएर पठाइदिएको
माली चरो पनि
कहाँ पुगिसक्यो !
जलदेवी
नदीको बगरमा उभिएर
पानीले बगाइरहेको
आफ्नो छाया हेरिरहेको छ !
थाहै नपाई
माटोमा झरिसकेछ
शिरको गुलाफ !
निभ्नै लागेछन्
आँखाका जोरबत्तीहरू !
ओहो ! कसरी यति धेरै
चिरा परे अनुहारमा ?
पानीले पखाल्दा पखाल्दै
मेटिन लागेछ अनुहारको ज्योति !
शरीरबाट चुँडिएर
झर्नै लागेछन् हातहरू !
झर्नै लागेछन् खुट्टाहरू !
नदीको पल्लो किनारमा
सुताएर आएकी थिई
जूनकीरीजस्ती छोरीलाई
थाहै नपाई
शिरानीमा लुकिसकेछ
हरियो सर्प !
ढाकरमा नून
र मट्टतिेल बोकेका
अभागी भरियाहरू
आज आउँछन् कि आउँदैनन् ?
झोलामा सिन्की
र चिउरा बोकेका
गरिब बटुवाहरू
आज आउँछन् कि आउँदैनन् ?
कर्कटपाताको भारी
र पानीको पाइप बोकेका
थकित गाउँलेका लस्करहरू
आज आउँछन् कि आउँदैनन् ?
माथि पहाडबाट
परालको भारी बोकेर
बूढा गोरुहरूको बथान धपाउँदै
तराई झरिरहेका खरितेहरू
आज आउँछन् कि आउँदैनन् ?
कतारको मरुभूमिमा
ऊँट चराएर फर्किएका
परदेशी छोराहरू
आज आउँछन् कि आउँदैनन् ?
मलेसियाको सडक बनाउँदा
हात चुँडाएर फर्किएका
यो देशका नौजवानहरू
आज आउँछन् कि आउँदैनन् ?
शरीरको रातो रगत
पहेंलो बनिसकेपछि
रगतकै टाटाले भिजेको
पुरानो गुन्युँ लगाएर
सिमाना पारिबाट फर्किएका चेलीहरू
आज आउँछन् कि आउँदैनन् ?
र भन्छन् कि भन्दैनन् उसलाई मझिनी !
टाढा पुग्नु छ टाढा....
पुग्नु छ सपनाको गाउँमा
यो नदीजस्तो जिन्दगी
तारिदेऊ न हामीलाई !
कोही पनि आएनन्
आज अबेरसम्म !
हिजो त यही बाटो भएर
केही राजाहरू
जङ्गलबाट दरबारतिर गएका थिए
र केही राजाहरू
दरबारबाट जङ्गलतिर गएका थिए !
भरभराउँदो जवानीजस्तै
भरिएको थियो
जलदेवीको डुङ्गाा
तर आज
ओहो ! फेरि कहाँ पहिरो गयो ?
धमिलो बनिरहेको छ
नदीको पानी !
कहाँबाट बग्दै आइरहेका हुन्
यी सिलबरका थालबटुकाहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी तीतेपातीले बारेका झुपडीहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी कोक्रोमा निदाएका नानीहरू ?
आएनन्
आज कोही पनि आएनन् !
थकित बटुवाहरू आएनन् !
हारेका परदेशीहरू आएनन् !
रित्तै छन् गाउँका कोखहरू
रित्तै छन् आमाका काखहरू !
कोक्रोमा सुताएर
तेल घसीघसी हुर्काएका
जूनताराहरू पनि आज आएनन् !
नदीको पल्लो किनारमा
सुताएर् आएकी जूनकीरी पनि
ब्यूँझिएर रोइसकेको होली !
नदीको ओल्लो किनारमा
जीवनजस्तै रित्तो डुङ्गामा बसेर
जलदेवी
पानीले बगाइरहेको