निरन्तर कुचीबाट बलात्कृत
क्यानभासहरूमा
रङहरू रोइरहेको देख्दा
मैले कविलाई सोधेँ
किन घाम हतार–हतार
अस्ताउन खोजिरहेको छ
आकाशमा डढेलो लगाउँदै ?
अनुहारभरि भय पोतेर
किन उदाइरहेकोछ जून
पोखिन नसकेको शीतझैँ
कर्कलोमाथि ?
आखिर किन फुल्दैनन्
रङ्गीन सपनाहरू मानचित्रमा
मैले कविलाई पुनः सोधेँ ?
कवि एकछिन आफैभित्र
हराउन खोज्यो
त्यो साँझ कति च्यातियो
कति सिइयो
मनका डिलहरू
त्यो कविलाई थाहा छ ।
भोलिपल्ट अखबारको
पाँचौँ लहरमा
कुद्दै थिए
मेरा बेलगाम आँखाहरू
अकस्मात् हावा रोकिएझैँ
अकस्मात बाढी चलेझैँ
देश हराएको बिस्मातमा
कविले आत्महत्या गरेछ ।