निकै वर्षपछि साँझमा
अचानक भेट भयो– ऊसँग
केही बोल्नुभन्दा अघि नै
उसले आँसु चुहाइहाल्यो ।
ऊ किन रोयो
बुझ्नै सकिनँ ।
सोध्नै आँटेको थिएँ
बितेका वर्षहरूको बारेमा
निचोरिएर रुनुको बारेमा
झन् डाँको छाडेर पो रुन थाल्यो ।
सोधँे यति नै
तिमीलाई के भयो ?
उसले रुन छाड्यो
आँसु पुछ्दै ठिङ्ग उभियो
र भन्यो,
मलाई हेर
र मेरो अनुहार पढ ।
भन्दाभन्दै हरायो ऊ
साँझको पहाडजस्तै ।