Last modified on 16 मई 2017, at 09:24

उत्पत्तिकथा / श्रवण मुकारुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:24, 16 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

ब्रह्माण्डको रचनापछि
ईश्वरहरूका पनि ईश्वर- महाईश्वरलाई
पृथिवीमा आउन मन लाग्यो
एउटा अकल्पनीय रचनापछिको थकानले
महाईश्वर
सुस्ताउन चाहन्थे केही क्षण
हेरे उनले पृथिवीलाई
आगोको डल्लो थियो- पृथिवी
झिके उनले लिङ्ग
र फेरे पिसाब
सेलायो पृथिवी ।

महान् कलाकार थिए- महाईश्वर
आश्चर्यजनक कुरा त के हो भने
लिङ्ग उनको कूची
र पिसाब उनको 'रङ' थियो ।

जब सेलायो पृथिवी
महाईश्वरले निथ्य्राउन पिसाब
अन्तिमपल्ट हल्लाए- लिङ्ग
र जन्मिए- ईश्वरहरू
जन्मिए- भुसुना, लाम्खुट्टे, कमिला, वनस्पति
र जीवजन्तु
यसरी गरे महाईश्वरले
आफ्नो रचनाको फिनिसिङ ।

वास्तवमा यो
पृथिवीको जन्मदिनको कुरा हो
भुसुनो थियो- कुखुराजत्रो
लाम्खुट्टे थियो- खसी, बोका र बङ्गुरजत्रो
राँगो ?
त्यो बेलाको एउटा राँगो
सगरमाथा हो
कुनै श्रापले भयो मूर्तिवत्
जो ध्यानस्थ छ अँझै मुक्तिका लागि
अहो ! कति छन् यस्ता घटना-दुर्घटना
यो पृथिवी जन्मिँदा घटेका ।

एक दिन
चोरेर महादेवको भाङ
खायो साँढेले
मात्यो ऊ
र उफ्रिहिँड्दा यस पृथिवीमा
पछाडिपट्टकिो देब्रे खुरले
टेकेछ- यहाँ
बनेछ- यो खाल्डो
बिग्रियो पृथिवीको नक्सा
रिसाए महाईश्वर
तब अचानक !
गड्गडायो आकाश
चम्कियो- बिजुली
बर्सियो- हिउँ र असिना
बन्यो विशाल दह
र दहमा खेल्न थाले माछाहरू

अर्को दिन
सपनाको तरबारले
सपना काट्दै हिँडेका मञ्जुश्री
रोकिए यहाँ
देखे- दहभरि माछा
छामे- जीव्रोले पानी
लाग्यो उनलाई-
विशेष हुनुपर्छ यहाँका यी माछाका स्वादहरू
र काटे- चोभारलाई

अपसोच !
पानीको वेगसँगै बगेर गए ती माछाहरू
मात्र बाँकिरहे-
स-साना शङ्खेकीरा, भ्यागुता
र गड्यौलाहरू
तिनै गड्यौलाका
ट्रान्स्फर्मेसन रहेछौं हामी
त्यसैले त
पृथिवीको त्यो जन्मदिनको
यतिका वर्षपछि पनि
घामको प्रत्येक रापसँगै हामी यो खाल्डोमा
खोजिरहेछौं टाउको लुकाउन- हिलोमा दुलो
लेखिरहेछौं- कविता
गाइरहेछौं- गीत
गरिरहेछौं- राजनीति ।