Last modified on 26 मई 2017, at 08:52

आगो टेकेर / निमेष निखिल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:52, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= निमेश निखिल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हो, आगोमै उभिएको छु
बदलामा, कविता जो लेख्दै छु ।

लेख्ने भए मात्रै तन्नेरी सौर्न्दर्यको चहक
रङ्गीन फूलहरू, हिमाली हाँसो र नदीको कलकल
सायद म पनि अटाउँथेँ कि तिम्रो कवि परिभाषामा ?

हिर्काइएपछि मान्छेको मौनताले
पराधीनताले, पीडाले, सुस्केराले पटक पटक
लखेटिएपछि सहरको उदासीले, गाउँको शून्यताले एक साथ
कविता लेख्नु आगोमा टेक्नुभन्दा दुष्कर हुँदोरहेछ ।

थाहा छैन, अरेबियन हुन् कि भाइ छोराहरू ?
या इजरायली हुन् छोरी बुहारी ?
सबै सबै आमाहरू प्रश्नका आँसु निफन्छन् नाङ्लामा
प्रत्येक बाबुहरू प्रश्नकै खास्टो ओढेर हिँड्छन्
आगोमै टेकेर खोज्दा पनि झुल्किँदैन जबाफ कहीँकतै ।

ठुला ठुला जहाजमा चढेर हिँड्न थालेदेखिन्
सपना समेत आउन सकेका छैनन् आँखामा
वियोग बजेका रुन्चे पखेरामुनि उभेर
आँसुको ओइरो हालिएका ढिकी जाँताछेउ बसेर
यसपालि पनि सकिनँ कविता लेख्न
भलै नपरूँ तिम्रो कथित वर्गीकृत कवि कित्तामा ।

भन्, ए समय !
अभावको बिस्कुन चर्ने भँगेरा धपाएर आफ्नै आँगनमा
फूल मुस्कुराएको, हिमाल हाँसेको, नदी कल्कलाएको
नक्कली कविता लेख्नु
के आगोमा टेक्नु होइन ?