Last modified on 26 मई 2017, at 12:41

मन्दिर / विष्णु न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:41, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


देख्ता मन्दिर भव्य छन् भवनले द्यौता भनें छन् शिला ।
मूर्ती सुन्दर शान्त वा अभयका लाखौं कुँदेका कला ।।
द्यौताका गुण, कर्म, मर्म निखनी ढाँचा, कला, छाँटमा ।
छाँदेका अति विध्न रङ्गहरूल े बस्ती हुँदै फाँटमा ।।
(१)
लाखौं खर्च गरेर बन्दछ कुनै होड्बाजिमा मन्दिर ।
के बस्ला अविराम धाइ सजिलै द्यौता यहाँ आखिर ?
यौटा बन्दछ उच्च मान भरिको चोखो पुजारी पनि ।
साँच्चै नै प्रतिमूर्ति, ईश जन झैं ऐश्वर्य बन्छन् तिनी ।।
(२)
देखाई अझ खेल, झेल, नखरा भाकी पुराणै पनि ।
आर्जेको धन चुड्छ लेख्छ शिरमा संज्ञान आफ्नै चुनी ।।
तिम्रो दान अवश्य देख्छ इशले लेखेर टाँस्छौ किन ?
पापीको मन शान्त हुन्न कहिल्यै सम्मान जस्तै छिन ।।
(३)
भ्रष्टाचार गरेर कृत्य विधिले कुम्ल्याइने सम्पति ।
दिन्छन् दान भनेर क्यै कण चुँडी सप्रन्छ के दुर्मति ?
कालो त्यो धन पाच्य हुन्न जसको पोलेर आफ्नै मन ।
टुक्रा एक चुँडी चढाइ दुनियाँ के श्वेत पार्छौ धन ।।
(४)
पापीको धन ल्याइ पाप बटुली श्रीकार्यले हुन्छ के ?
साँच्चै यो मुटुमाझ ईश्वर भए ती धामको काम के ?
मान्छे स्वार्थी अझै भयङ्कर छ हो त्यै धामका नामको ।
उठ्ने दान सुटुक्क खान्छ बटुली ओढी धजा रामको ।।
(५)
श्रद्धाको जब दान खान्छ सजिलै सानिध्य चेला बनी ।
त्यस्कै उन्नति हुन्छ रुन्छ दुखिया देख्तैन द्यौता पनि ।।
जस्ले मन्दिरलाइ यज्ञ विधिले अर्पन्छ श्री—सम्पति ।
त्यस्कै हुन्छ विलाप हुन्न अरु क्यै नासिन्छ आफ्नै गति ।।
(६)
उल्टो दर्शन भोग्छ आज जनता सम्मानको क्लेशमा ।
दुख्यो देश जसै युरोपियन झैं काला शताब्दी महाँ ।।
कालो त्यो युगको विचित्र बिचमा यस्तै थियो स्थिति ।
हामीमा अहिले अचाक्लि पनको देखिन्छ त्यस्तै गति ।।
(७)
साझा मन्दिर बन्नु पर्दछ सधैं इच्छा सबैको बुझी ।
सेवाको स्थल हो समस्त जनको सम्मानको सम्पति ।।
कोही काख कुनै पराय नभई आस्था बनोस् एकता ।
मान्छे भित्र जगाइ शान्ति समता सद्भाव ल्याओस् सदा ।।
(८)
विश्वासै धन हो श्रमिक जनको सेवा त हो देवता ।
आस्था वा उपकार हो र ममता सद्भाव हो देवता ।।
सेवाका र परोपकार करका जुन् कर्मछन् हर्दम ।
त्यस्ता कर्म हुने दयालु मन हो देवत्वको दर्शन ।।
(९)