कसैमा जीवन सिका लगाउनुको अर्थ
गुमाउनु नै त रहेछ एक धर्को अस्तित्व ।
लहराउनु , झाँगिनु , फैलनुको मौलिक महत्व
कहाँ अँचेट्न सक्तो रहेछ र
बेरिएर थांग्रोमा उभिनुले ?
धरातल आफ्नै हुनुपर्दोरहेछ बलियो जीवन बाँच्न पनि ।
कसैका जीवनको थांग्रो बनिनु
सेवक बनिनु पनि रहेछ ।
कसैको जीवनलाई थांग्रो बनाइनु
अस्तित्व मेटाउनु पनि रहेछ ।
स्वावलम्बनको सिङ्गो उपस्थिति आफैंबाट गुमाउनु
जीवन गुमाउनु जत्तिकै रहेछ ।
भनिन्छ ः अस्तित्व सङ्घर्षमा जीवित हुन्छ ।
सङ्घर्ष अस्तित्व रहुन्जेल जीवित हुन्छ ।
तर, अस्तित्वकै समर्पण भएपछि
जीवन कहाँ जीवित रहन्छ र ?
मानौ, जीवन यात्राको एउटा सम्झौतामा
तिमी भन्नु ‘तिमी’ र म भन्नु ‘म’ थियौं ।
‘हामी’ बन्यौं निश्चित गन्तव्यका सहयात्री ।
पृथक स्थूलता, पृथक अस्तित्व तर केवल
जीवन उकालिने एउटै विश्वासका सहयात्री ।
तिम्रा आँकुराहरूले मेरा अङ्गहरू लपेट्न नभ्याउँदै
तिमी भित्रको ‘म’ अर्थात् ‘आफू’
मेटिएको देख्न चाहन्नँ म ।
तिम्रो पराधीनताको यात्रा
वा वस्तुमय जीवन जीउने आलस्यता
कहिल्यै बढेको देख्न चाहन्न म ।
तिम्रो ‘म’ वा ‘आफू’ आफैं भित्र नखोजेको
कहिल्यै देख्न चाहन्नँ म,
तर, खै ?
भोग्य जीवन र अल्जेब्रा कहाँ एकै बन्दोरहेछ र ?
तिमी आज त्यैस्तै भएकी छौ जस्तो मैले चाहेको थिइनँ ।
न्वारान गरेर कर्तव्यको जब
टाँसेथ्यो समाजले तिम्रा कथित ‘आफू’का भारहरू
मेरा जिम्मेवारीका ललाटमा,
थेगिरहेछ मेरो एक्लो पाइतालाले
सिङ्गोे तिमी र सन्तान विश्रान्त ढाकर ।
अनि, खोजिरहेछ मेरो बर्तमान
तिमी भित्रको ‘आफू’
इतिहासका कुन पानामा थियो भनेर ।