Last modified on 28 मई 2017, at 16:45

कविताका नाममा / निमेष निखिल

एकतर्फी मन पराइएकी
पूवप्रेमिकाको अनुहारको धमिलो चित्र
उमेरमा गरिएका केही हरफ बदमासी
हाँसेका रोएका केही पलहरूको झल्याकझुलुक
आफ्नो अर्समर्थता र छिमेकीहरूको इर्ष्या
यस्तै-यस्तै केही मात्र लेखिएछ आजसम्म-
कविताका नाममा ।

लेखेको भए- बाका दुइ हत्केला ठेलामा कोरिएको जीवनको तस्बिर
वा आमाका रसिला आँखामा देखिने
आफ्नै अनुहारको प्रतिबिम्ब
अरबतिर जीवन सिला खोज्ने कोलम्बस दाजुको कथा
अथवा ढिकीजाँतोमा पीडाका शास्त्रीय राग अलाप्ने
नवविवाहित भाउजूका वेदना
बरु हुन्थ्यो कि कविता जस्तै केही ?

लेखेकै भए- ठुलाघरेको छोरो एक्कासि गाउँबाट अन्तर्ध्यान हुनाको कारण
र छिमेकी दिदीले घाँटीमा डोरी बाँधेर
जीवनकै पिङ खेल्नु बिचको गूढ सम्बन्ध
अथवा
आक्कलझुकल सुनिने
ठुली फुपूको बैँसका कहालीलाग्दा कथाव्यथा,
फूल र सपनाप्रतिको उनको तीव्र वितृष्णा
र अझैसम्म उनको बिहे बहुनुको भित्री रहस्य
सायद, कविता जस्तै देखिन्थ्यो होला त्यो पनि ।

कविताका नाममा- लेखेर मान्छेभन्दा टाढाका सुदूर तिलस्मी भ्रामक सन्दर्भ
ब्युझएिको छु आज कथित कवि हुनुको भ्रमबाट
बडेमानका शब्दहरूको मान्छे नै छेक्ने पर्खाल हैन रहेछ कविता
तिम्रो कोटको खल्तीमा स्युरेको गुलाफ,
वा तिम्रो टल्कने सुनको महँगो दाँत होइन रहेछ कविता
न भाले मयूरको रङ्गीबिरङ्गी प्वाँखै रहेछ कविता !

लेखेछु कविता कुनै दिन भने,
अब लेख्नेछु-
एउटा अधिनायकले तिमीतिर उठाएको चोर औँलाको विरोध,
खेतमा खडेरी चुहेर पेटमा धाँजा फाटेको दुखेसो,
नदी बौलाएर गाउँ पस्दाको चित्कार गीत
र पहिरो हाँस्दा जीवन धुरुधुरु रोएको चूडान्त वेदना ।

सकेँ भने कवितामा आविष्कार गर्नेछु-
एउटा त्यस्तो चमत्कारी ऐना-
जहाँ फूल फुलेका मान्छे अनुहार मात्र देखिनेछन् ।