Last modified on 1 जून 2017, at 20:07

सपनाको प्रतिपक्षमा / निमेष निखिल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:07, 1 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह= शोक...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


भावनाको भेडिखर्कबाट आजै
चाहनाको ओरालो लागेका छन्―
मनहरू ।
 
अतीतको अँध्यारोले कब्जा गरेको जीवन
वर्तमानले हिर्काएका केही नीलडाम
र मुठीभर आशाको उज्यालो
यति हुन् हाम्रा साथी।
 
समात्नु छ सपना हामीलाई
र मेटाउनु छ तृष्णा―
वितगदेखिको एउटा सन्तप्त वियोगको ।
 
जूनको आँगनमा नछरोस् कसैले दुस्मनी
र किरणहरूमा
नपोतोस् कसैले विचारको रङ।
 
निलो आकाशको छानो च्यातेर
नचुहोस् समस्याको झरी
यत्ति भए पुग्छ हामीलाई।
 
आँखैअगाडि पोल्टाबाट खुस्केर
नछरियून् सपना सडकभरि
ठेस लागेर विश्वासमा छिर्काहरूले नरङ्गियोस्
मनदेखि मनसम्म पुग्ने बाटो।
 
यत्ति हुन् हाम्रा सस्ता सपनाहरू।
 
ए राज्य !
भन्, कहिलेसम्म उभिरहन्छस् ?
हाम्रा सपनाको प्रतिपक्षमा।