पीडाको गर्भ न तुहाउन सक्छु
न त राखेर जन्माउन नै
शंकाको भरमा न कसैलाई सुनाउन सक्छु
जाँचेर निक्र्योल गर्ने
साहस जुटाउन असमर्थ
छातीभित्र भावहरु एक पोको परेर
गुडुल्किरहेका यता र उता ।
सुक्ष्म दर्दको यो गोप्य श्रृंखला
न कसैसंग बाँड्न मिल्छ
न उदाङगो बनाएर देखाउन
एक्लै दन्किरहेको छ हुरहुरी
खरानी बनेर उडीरहेको छ हावा संगसंगै ।
गर्भको उपस्थिति अनुहारमा झल्कने भय
अनि,
विस्तारै शरीर भरिन सल्कने त्रास
निधार त्यसै चिन्तित जस्तो
सार्थकताको गर्भ धारण गर्नेहरु
न अरुको मर्म बुझ्छन
न जीवनका विवश क्षणहरुको
वास्तविकता आत्मसात गर्छन् ।
अन्जान सडकका पेटीहरुमा
निरन्तर पाईला आङ्खनो छाप छोड्दै
अनिश्चित गन्तव्यतिर चुपचाप लम्कँदैछन्
बस,
पदचाप धरती सुनिरहेकी छिन् ।