पग्लदैछ प्रेमको हिमाल
मनसुनको तापसँग
सुन्दै पानीको मुर्च्छना।
ओसिलो क्षितिजको पछ्यौरी ओढेर
मुस्कुराउदै
जब झर्छ बलेंसीमा यो पानीको लहर,
बूढी आमा
सम्झदिहुन् बैंशको अंगालो,
कल्पना गर्दो हो कुनै टुहुरो
आमाको स्पर्श निधारमा,
चञ्चले केटाकेटीहरु
उफ्रिदाहुन् आगनभरि
फोका फुटाउँदै पानीको।
यतिखेर म,
डुबानमा फसेका धुरीहरुसँग छैन,
न चुहिएर छानो
रातभरि जागै बसेका
आखाको पीडासँग छु
म,
न पहिरोमुनिको
कुनै बालकको लाश देखिरहेछु
न चौगुना मोटाएको
त्यो खोलाको बेग सुन्छु
म त एकोहोरो समेटीरहेछु
झरीसँगै खसेका
सुमधुर यादहरु,
र सजाइरहेछु
यी हरफमा
आफ्नै प्रेमीको जस्तो
झरीको चुम्बन।