यो साँझमा
यादको हावा बोकेर
बेपत्ता मौसम आइपुग्यो।
युद्धको कुहिरोमा
भविता खोज्दै हिडेको
एउटा सन्तान
बेखवर कहा पुग्यो?
कहा पुगे
बेपत्ताको छाती टेकेर
समयलाई शासन गर्नेहरु ?
कहा सुकाए
आमाको आसु पुछेको टालो
र सुकिला भए ?
अध्यारामा
अध्यारै भो कि उस्को अनुहार
कस्तो भो होला उस्को रङ ?
मेरो छातीमा टासेर उस्को पुरानो तस्वीर
अखवारले खिचेको फोटाको जस्तो
कि माटाकै जस्तो।
दिउसो जागर उठ्दैन,
राती सपना सुत्दैन,
नचिने झैं बोल्छ आफ्नु जिन्दगी,
कि आफ्नै जीवन पनि
साझ जति प्यारो छैन।
यहि साझको
धुमिल आकासको अँध्यारामा,
म खोज्छु तारातारामा
के ऊ तारा भइसक्यो ?
कि बास बस्तै बलैंसीमै आइसक्यो ?
यहि साझमा
म तारा र आहटको दोधारमा
हावासग बात मार्न थाल्छु
र विर्सन्छु केही छिन
ऊ बेपत्ता भएको छ।
साँझमा
यादको हावा बोकेर
बेपत्ता मौसम
आज पनि आइपुग्यो।