विचित्र छ अक्षरको बगैचा !
पल्लबितै नभए पनि बोट,
ग्रीष्मको आगोमा 
हाँस्दै टुप्लुकिन्छ वसन्त,
जाडोको कहालिँदो कठ्याँग्रो नै चिरेर 
प्रकट हुन्छ,
अनायास वसन्त !
अनेक भए पनि ऋतुको नाम,
साँझ-बिहान कुनै पनि याम
लाग्दै गर्छ यो बगैचामा 
वसन्तको मेला 
अनन्त अनन्त !
कस्तो मिठोपन !
संजोगको हाँसोमा भन्दा 
विरहको आँसुमा 
झन् झन् मधुमय हुँदोरहेछ
वसन्त !
यदाकदा 
आँधीहुरीको 
प्रलयँकारी बबन्डरमा पनि
झस्काउँदै
तडितको रूपमा 
तडकारिन्छ वसन्त !
यौटै छ ढुकढुकी,
मेरो अन्तस्करणको -
समाधिस्थ योगीको दिव्य मस्तकतुल्य 
वसन्तमय होस् यो बगैचा -
यो अक्षरको बगैचा -
जगाउँदै जीवन-जगत्
किट-पतंगपर्यन्त 
पल-प्रतिपल 
अविरल, अविराम !
अनन्त ! अनन्त !!