Last modified on 18 जुलाई 2017, at 15:05

सपनाको लास / बैरागी काइँला

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:05, 18 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=बैरागी काइँला |अनुवादक= |संग्रह=ब...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


मेरो हजुर
सपना त रातभरिलाई हो!

गञ्जी र कमेजले ढाकेको
स्याल र फ्याउराले मात्र
अपशकुनको आवाज कराउनलाई

सम्साँझै बास बस्ने
गाउँभित्रकै यौटा बुढो ओढार– हाम्रो छात्तीलाई
अफिसको फाइलको बिटाले
अरुप्रति नदेखाई नहुने
लोकाचार र बाध्यताको धर्मसंकटले
हिर्काउँदै निर्ममतापूर्वक ....

मुख पनि नधोईकन
आफ्नो आदिम अनुहार
टेबलका ऐनामा हेरेपछि
एकजना आफूलाई त साँच्चो भन्नुपर्छः
सपना त रातभरिलाई हो !

सपना त रातभरिलाई हो,
निद्रा नटुटेसम्म,
बिम्झिने बित्तिकै
अज्ञानको अन्धकारबाट
सखारै सूर्यमन्दिरमा
कन्ये केटीहरुले चढाउने फूलसित
आफ्नै हातले पनि चुँडिदिनु पर्छ !
(जस्तो कि आज पनि मैले
हजुरको निम्ति भनेको मेरो मायालाई
पर ––––––––डीलमा गाडिदिएको छु
आमाबाबुको निम्ति बलिदिएको मेरो माया,
भन्दछन्......
त्यहाँ फेरि चमेलीको बोटमा उम्रिएको छ !
मैले पनि कति खेप पहेँलो फूलको सपना पाएको छु–––
आजकल )

आफ्नो लागि कम र अरुको लागि धेरै
बाँचिदिनु पर्ने यो जिन्दगी !
यो जिन्दगी यौटा अनुष्ठान हो !
हो, महत् अनुष्ठानको सार्थकतालाई
इतिहासमा
जीवनको बलिको दान चाहिन्छ !
ठीक हो,
हामीलाई जीवनभर तर्साउने छन्
ओछ्यानमा रातरातभरि
अतृप्त आत्माहरुले,
अनि बिहानपख
रोईराख्नेछन् रगतका आँशु कर्कलाको पातमाथि :
बलि दिइएका परेवाका बचेराहरू –
कलिला कलिला हाम्रा सपनाहरूले!

तर जिन्दगी अनुष्ठान हो !
जिन्दगीको इमान राखिदिनु पर्छ!
हामीले मुठ्ठी खोलेर बाँचिदिनु पर्छ !

सिग्रेटको खरानीसीत
टक्टक्याएर सिरानी र सिरकबाट
कतै छरिएका सपनाका अबशेषहरु
कोही डढिसकेका
कोही भाँच्चिएका
पुतलीका पखेटाहरु !


जोरातभरि लालटेनमा झुत्तिएका थिए,
पर––––––डाँडाकोउताबाट
रगतमा चुर्लुम्म हात डुबाई
डकार्दै, टाउको उठाइरहेको सूर्यलाई,
आधि पर्दाबन्द झ्यालबाट हेरेर
चुपचाप, विवश !

उफ्! पाइला पाइलामा
लोकाचारको पैतालाले कुल्चिदै प्रत्येक बिहान
जिन्दगीको,
मानिसले सपनाको लासमा जानुपर्छ !

प्रत्येक मानिस एक्लोमलामी हो!
प्रत्येक मानिसले
आफ्नो सपनाको लासमा,
एक्लै एक्लै मलामी जानुपर्छ !

प्यारको अनि बाध्यताको निर्दयताको कालोपन
भमराको निर्जीव देहसित
कमलको छात्तीबाट
सपनाको लास पोखरीमा बसेपछि
बिहानको उज्यालोमा
जिन्दगीले आँखा मिच्दै उठेदेखि नै
यस धरतीमा
मानिसले व्यथा सहनुपर्छ!
पाइला–पाइलामा
लोकाचारको पैतालाले कुल्चिदै
प्रत्येक बिहान जिन्दगीको
मानिसले, सपनाको लासमा जानुपर्छ!

मेरोहजुर !
सपना त रातभरिलाई हो!