निधारमा लर्काएर सप्तरङ्गी टिको
हिँडिरहूँ सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले
चहचह ! पिङ हैन, माया झुलेको छ
सयपत्रीसँगै मेरो खुसी फुलेको छ
अङ्ग–अङ्ग पुजेकी छु तिमीलाई मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले
आँगनले भैलेनीको भाका पाएको छ
घर सम्झी परदेशी फर्की आएको छ
मालाभरि उनेकी छु तिमीलाई मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले