आफैँलाई हेरीहेरी बसेँ पीर मानी
तेरो बैंस बित्यो भन्छ ऐना बेइमानी !
सजिएर कहाँ हिँडू किन शृङ्गार गरूँ ?
कसको बाटो पर्खिएर पीरको पहाड चढूँ ?
कहाँ पोखूँ बह मेरो गरूँ कुराकानी
त्यहीँ छुन्छन् मान्छे मलाई मर्म जानीजानी !
अझै हाँस्ने धोको थियो खेल्दै लुकामारी
बैरी भयो सारा संसार मलाई एक्लै पारी
किन भेट भयो बरै भयो चिनाजानी
मनभरि आगो यस्तो आँखा पग्ली पानी !