Last modified on 27 जुलाई 2017, at 15:34

मन लाग्छ / हरिभक्त कटुवाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:34, 27 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


कहिले-काही -
रक्सी पिई लट्ठ परेको मानसि देख्दा
म पनि ऊ सरि लट्ठ परेर
हिँडू-हिँडूँझैँ लाग्छ,
त्यस जीवनको मोहले होइन
स्व-जीवनको अस्तित्व बिर्सन
लट्ठ हुन मन लाग्छ ।

कहिले-काही -
सहर बीचको चौबाटामा
हात घुमाई लत्तो छोडी
नाचिरहेको पागल देख्दा
म पनि ऊ सरि लत्तो छोडी
नाचूँ-नाचूँझैँ लाग्छ,
पागलपनको मोहले होइन
पृथिवीको अस्तित्व बिर्सन
लत्तो छोड्न मन लाग्छ ।

कहिले-काही -
हुन्छ जब-जब गुञ्जायमान
मानिसहरुको हल्ली-खल्लीले
वेश्यालयको साँगुरो गल्ली,
म पनि रातको आड लिएर
पुगूँ-पुगूँझैँ लाग्छ,
काममा तृप्त गराउन होइन
सभ्यताको अस्तित्व बिर्सन
पुगिहेर्न मन लाग्छ ।