Last modified on 28 जुलाई 2017, at 16:51

प्रजातन्त्र दिवस / भूपी शेरचन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:51, 28 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपी शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatKav...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आज फागुन सात गते
‘प्रजातन्त्र दिवस’
गर्वलाग्दो पर्व नेपालीको ।
  
एउटा ठूलो जुलूसले गरिरहेछ
शहर परिक्रमा
बाटाभरि हिडिरहेछन् सेता दौरा सुरुवालहरू,
हेडमास्टरको पछि-पछि पसिना पुछ्दै बालहरू,
चङ्गा झैं उड्दैछन् हावामा काला टोपी
(विचारशून्य मस्तिष्कलाई छोपी)
फर्फराइहरेछन् जतासुकै काला कोटहरू
(जसभित्र छन् सायद जुलूसपछि
पप्लु खेल्न राखेका नोटहरू)
आज फागुन सात गते
‘प्रजातन्त्र दिवस’
गर्व लाग्दो पर्व नेपालीको ।

यहाँ केन्द्रमा मात्र होइन
अन्यत्र भइरहेको होला
प्रत्यक अञ्चलमा,
हरेक जिल्लामा
जहाँ गर्दै होलान् परिक्रमा
अलंकृतहरू पट्टीमा बेरिएर,
झुण्डिएर विल्लामा,
आज फागुन सात गते
गर्व लाग्दो पर्व नेपालीको
आज ‘प्रजातन्त्र-दिवस’
धेरै छ संख्या जुलूसेहरूको
तैपनि म सोच्नलाई
र, सोध्नलाई-छु विवश
- हो धेरै छ मान्छेहरूको गन्ती
तर खोई दुल्हा ?
जसको खुशिमा सम्मिलित भई
हिंडिरहेछ यो जन्ती !

आज फागुन सात गते
-’प्रजातन्त्र-दिवस’
गर्वलाग्दो पर्व नेपालीको ।