Last modified on 6 अगस्त 2017, at 11:25

आदि-सम्झना / श्रवण मुकारुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:25, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तिमीसँग–
यौटा चुहिने घर र आँगनमा एक थुँगा रातो फूल थियो
मलाई खोज्न–
धुवाँ निस्किरहने आँखीझ्याल, पुरानो क्षितिज
र आक्कलझुक्कल उड्ने केही चराहरू थिए
मलाई सम्झिन–
एक रोगी कथा र खसिरहने आँसु थियो
र थियो–
अचाक्ली दुख्ने यौटा घुर्मैलो मुटु

तिमीसँग–
यौटा रुमाल थियो– स्वप्नको
ऐना बट्टाजस्तो एक पँधेरी थियो– मेरो विवशता हेर्नलाई
फुल्दै गरेको कपाल
खुम्चिँदै गरेको निधार
सुक्दै गरेको वक्षस्थल
र फाट्दै गइरहेको कुर्कुच्चा थियो–मेरो बैमानी बुझ्नलाई

तिमीसँग–
यौटा कलिलो तस्वीरभरि पोखिएको सिन्दूर थियो
कुनै अपहृत मुलुकको सीमेखाजस्तोर
रातो पोते थियो (झन्नै छिनेको !)
र थियो– एक निर्दोष मौनता
जो सलबलाउँथ्यो रातै पहाड भएर–
फूल फुल्दा/फूल झर्दा
चट्याङ खस्दा/ झरी थामिँदा
घाम उभिँदा/घाम ढल्किँदा
 
तिमीसँग–
आकाश थियो– अनन्त
धर्ती थियो– वैभवपूर्ण
र थियो–
एक जीवन/एक विश्वास/एक समर्पण/एक सङ्कल्प
अपसोच !
मसित केही थिएन ! केही थिएन !! केही थिएन !!!
केवल थियो– एक पिरो सम्झना ।