वरिपरी सब घेरी जाल राम्रो बुनेर
नजर गरि चनाखा चाल राम्रो सुनेर,
दलिन मनि कुनामा माकुरो एक बस्थ्यो,
घरिघरि घुमी हेरी प्वालमा फेरि पस्थ्यो ।
१
"भ्रमर पुतलि जिङ्गा जालमा आइ पर्छन्,
लटपट भइ चाँडै जालमा नै ति मर्छन,
अरुहरु पनि पर्छन् जालमा धेर हेर,
बसि बसि अनि खाँला मासुको भोज धेर ।"
२
यति भनिकन भित्र प्वालमा गै लुकेर-
वरिपरि पनि हेर्दै माकुरो त्यो ढुकेर,
दिनभरि अनि बस्थ्यो आसको खास दास-
पुतलिहरु नपर्दा दुष्ट हुन्थ्यो उदास ।
३
भ्रमर वर नआई जालको चाल पाई
परपरतिर जान्थे जाल देखी डराई,
अरुहरु पनि उड्थे जाल मागी उडेर,
रस पनि अनि चुस्थे फूलमा ती भुलेर ।
४
सरल सरल मौरी मस्त भै गान गाई,
फुल फुल रस खाई फेरि खाई अघाई,
घुनुनु घुनुनु गर्दै जालमा पर्न आयो,
लटपट भइहाल्यो प्राण त्यल्ले गुमायो ।
५
झटपट गरि निस्क्यो जालमा माल पाई,
लटपट अरु पार्योय जालमा माललाई,
विष पनि अनि हाल्यो हात खुट्टा समायो,
चुसि चुसि अनि खायो माकुरो त्यो अघायो ।
६
विषय रस कुनंमा एकहोरो नलागी,
अघि पछि पनि हेर्दै ज्ञानिले हिंड्नु पर्छ,
अघि र पछि नहेर्ने हुस्सु हो त्यो अभागी,
अतिशय दुःख पाई मूर्खले मर्नु पर्छ ।
७
प्रकृतिसित म मिल्छू भाव लिन्छू उसैको,
भनिकन कवि जस्तै भै उसै तम्सिएको,
हुन त कवि म कैले सक्तथे बन्न ऐले ।
तर पनि कविता यो लेखि-हेरें बलैले
८
('पद्य-संग्रह' बाट)