बन्दी
विश्वको कुन विवश-क्षण
मेरो कुन पुण्य-बल
झर्न पाएको छु म
धरणीको यो धरामा धूसर ।
माथिबाट आकाशको भार
तल, मानिसको अर्गलित द्वार
माझमा, देखें, पाएँ, जति मानसिक विकार ।
यही कै मायामा माटाका साँचामा
रुप पाएँ विश्व-रुपमा
धारण गरे महान् नाम
मनुष्य नामाक, <ref>कविको लय बोधार्थ, असाधारण रुप, ‘नामको’ हुनुपरेको खण्डमा ‘नामका’</ref>
यहींकै पङ्कमा यहींकै नीरमा
सुयोग पाएँ नीरज भएर
सुगन्ध सुरभि छरेर वायुमा
फुल्न फल्न समीरण-सिञ्चित
मन-मालञ्चमा ।
तथापि म किन
उत्कण्ठित उत्पल ;
खर-रौद्र-तापमा
उपनयन उन्मोचित गरी
हेरी बस्छु तपती<ref>तपती-सूर्यकन्या, सूर्यपत्नी-छाया, “हेरी बस्छु तपती”- हेरी बस्छु छायातिर अथवा छायालाई ।</ref>
अदृष्ट दिशा,
समीरण-शिहरण मेरो सुरभि बोकेर
उडी गयो हिंडी गयो
जुन दिशा जता-
विस्मृत देवताका महावेदीतल
अ-चित पुरमा ;
आज यहाँ सोधेको जगत्लाई
भयो कि समय हुन मेरो बिदाइ
अनिर्दष्ट गन्तव्य-पथमा-
गति उत्सुकता गतिकै कारण
छैन जो अन्यथा उपाय
हुनु नै पर्छ, प्रत्यागमन मेरो
सब पुण्य-शेषमा ।
आएको थिएँ म, गुरुत्व-विहीन
पातलो पङ्खको उडान जसरी
सूर्यरश्मिका औंलामध्ये अदृश्य धूलाका
ऊर्म्मी नसरी
दीप-शिखा-शिरमा प्राण-शिहरण जसरी
अनिश्चित स्वर्गबाट
पुण्य-बल बोकी
तर आज, बिदाको बेला
छैन ता केही यात्रा-मेलामा
देखिनँ, पाइनँ, सुनिनँ – मन फकाउन
स्मित-हास्य अथवा, लेश मात्र मृदु उच्चारण
मानसिकताको गोप्य कुनामा
मात्र, एक गुरुत्व चाप
प्राण,पादुकामा ।
तैपनि, आज, जानको लागि
रैछु सिँगारी
यहि महाभार आकाशको
थामी शिरोपरि
सरसी-सन्ताप धृष्टता राखी
मानिसको धृष्टता राखी
पृथिवी-पृष्ठमा छाडेर पनि
गुरुत्व-आकर्षण, गभीर चाप
सधैं रहेका यी-
यी जतिबाट छुटकारा मैले
पाउनु पो कसरी,
पृथिवीको पासोमा
सधैं नै यसरी
रहन्छु कि म
चिरबन्दी !