शाश्वत आकाशमा
नील-नीर-सागरमा
वसुधाको वक्षमा
थियो जुन दीप्त
प्राणज्वालाले घोर प्रदीप्त
त्यही नै थियो,
अवचेतनाको ओष्ठ-धार
-घोर सुषुप्त ।
तब, एकदिन-स्वमहिमा जगाई
लियो त्यसले एक अलस अङ्गलाई
सृष्टिको मूलमा
गरेनलाई स्व-अभिव्यक्ति व्यक्त,
चेतना-शिकड त्यही
मानिसको मृण्मय देहमा
सर्वाङ्ग वेह्री पस्नेबित्तिकै
अघिसरी गयो मनुष्य,
आरोहणको लागि
सिंहासनमाथि
आसीन छन् जहाँ
विश्वचित्त ।
यो ऊर्ध्व, गतिमा आरुढ
मृण्मय मनुष्य
अभिरञ्जित भयो, पायो एक
अव्यक्तको व्यक्तित्व ।
मानिस जान्छ हिंडी, हिँडी जान्छ
उच्चदेखि उच्चतर
उसको, व्यक्तित्व अघि बढी जान्छ
महिमादेखि महिमान्तर,
ईश्वरको शेष ऐश्वर्य गरेन वरण
महत् माहात्म्य ;
श्री, कीर्ति, वीर्य, ज्ञान
वैराग्य अनि माहात्म्य
यी षड् ऐश्वर्यस्थान
नाघेर जान्छ मनुष्य जब
ऊर्ध्व नतिले प्रणति चढाउन
त्यही नै हो उन्नतितथ्य ;
माहात्म्यपीठमा मानिस पुग्नुअघि
‘उन्‘ जहाँ हुन्छ ‘नति ‘,
मात्र त्यहींसम्म, हुनेछ उन्नति,
त्यस उपरान्त
महात्म्यजडित, ऐश्वर्य-अन्वित
रहन्छ ईश्वरलीन ईश्वर भएर ।
तर प्रगति
मात्र गतिका गति, गतिका धावन
निर्धारित दिशाहीन
मृत्तिकापथ
ल्याउँछ त्यसले प्रवृत्तिका परिवर्तन
गर्नलाई
विमूढ जीवन ।