मलाई पठायौ यो धरणीतल
नानाविधि पाथेय उधारो दिएर
सङ्कुल पथ हिंड्न
आज, फर्कने बेलामा
त्यसै कारण बसेछु खातामा
हिसाब-किताब गरेर
हेर्न तिम्रो हिसाब चुक्ता
भयो कि भएन ।
मेरो अँध्यारो जीवनमा
स्पर्श ज्योतिको कसरी भएछ
हे ज्योतिर्मय, तिम्रो दृष्टि
फर्केर ममाथि, फेरि ता परेछ !
निशाको अँध्यारोमा निशीथ पवन चलेको बेला
भवसागर मनन-चिन्तनमा
पाल टाँगी तरी हिंडी
जीवन-तरणी
तिमीले नै दिएको मृण्मय दीपको
भीति-कातर ज्योतिमा
आइपुग्छ तिम्र तट,
तिमी,-चिन्मयकै
-सन्धानमा,-
मनमा लाग्छ टुङ्गियो होला अब
अबका यी शेष दिनको
समय शेष ।
हिसाब शेषमा अहिले देख्छु
जीवन खाताका पृष्ठमा
लेखेर राखिएका अङ्कहरुका
योग अनि वियोग फलमा
मात्र एउटा, असार शून्य, लागेछ हातमा
तिम्रो सान्निध्यमा, लिएर जान योग्य
पाइनँ ता केही, जीवनोपार्जनमा !
अहिले बुझ्छु हे महाजन
तिम्रो ऋण-ग्रस्त म
अझै पनि रहनैपर्छ ऋणी,
मात्र,
त्यही अनुभूति, हृदयमा बोकी
तैल-रिक्त दीप म
तिम्रो निकट
आउँछु फर्की
तैल-सिक्त गरेर
फेरि पनि मलाई
पठाउँछौ कि !
यति दूर-धावन
धरणीमा
गहन गवेषण
निविड रात्रिमा
मेरो गतिको प्रगति पृथिवीपथमा
अहिले पो
जान्न पाएँ प्रभो,
थियो मात्र, पथकै उत्तेजना-
जीवनका योजना सब
थिए खाली, असार कल्पना ;
त्यस्तै भएन भने
तिमी किन
सदा स्थिर
अटल भई
रहेछौ स्वयं केन्द्रमा !!