Last modified on 12 अप्रैल 2018, at 16:32

रक्सी छुनुअघि / सीमा आभास

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:32, 12 अप्रैल 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


‘जननी जन्म भूमिश्चः स्वर्गादपी गरीयसी’ भन्दै
मैले टेक्ने भूमिलाई दिनहुँ प्रणाम गर्छु
म आध्यात्मिक रक्स्याहा हरेक बिहान
रक्सीले मुख धोएर सूर्यस्नान गर्छु
रक्सीकै जल चढाएर ‘ॐ सूर्यायः नमः’ भन्छु ।

बैरागी काइँला !
तिमी कविताका हरफ–हरफमा मातेझैँ
मेरो देउताको थाप्लोमा
तुरुक्क ब्राण्डेड रक्सी चढाएर बाँकी सबै पिएपछि
मेरो भूमेदेउता र मसँगै
मातेका हुन्छौँ आफ्नै पूजाकोठामा ।

काइँला ! तिम्रो कविता
‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’
भर्खरै पढेर सिध्याएको छु
कविताले धङ्धङीएको म
सधैँझैँ बिहान जानु छ
देवकोटा पुस्तकालय समाचार पढ्न
समाचार पढिसकेर खल्तीको लार्ज पेग
पुस्तकालयको चौरमा बसी एक्लै
पिएर फेरि फिर्नु छ भट्टी ।

भट्टीमा घन्किरहने रेडियोले नभनोस्
आज यो देशको खबर
बरु तीव्रसँग कुनै रैथाने रक्स्याहाले भनोस्
‘भैँसी तस्करले सस्तोमा मासु बेचे,
आज दिनभर मःमः को भाउ घट्छ ।’

काइँला ! रक्सी पिएर छाती पोलेपछि
तिम्रो कविताको पानी पिएर रक्सी बेच्नेलाई सोध्छु
क–कसमा आँसु बोतलमा जम्मा पारेर बेच्छौ रक्सी ?
यो तितो रक्सीमा क–कसको खुन मिसिएको छ ?
यसमा कसरी आइरहेछ
अपहरित नानीहरूको पिसाबको गन्ध ?
भरि गिलासमा निहुरिएर हेर्दा किन देख्छु
आँधीबेहरीले हल्लाइरहेको मेरो गाउँको नक्सा ?
मेरी हजुरआमा र जिजुमाको सतित्व
चाकाचुली खेलिरहेको बोतलमा
किन कुँदेको बनारसभन्दा पनि उतै उड्ने
बडेमान हवाइजहाजको चित्र ?

मेरो प्रश्नको जवाफ नदिनेकोमा
रक्सी नपिउँ भन्छु, मन मान्दैन ।

यो सहरको नामी जुवाघरको पेटीमा
दिउँसै एक लार्ज पेग रित्याएपछि
कराएर भन्न मन लाग्छ
‘मातेर सडकमा नकरा’ भन्दै मलाई
गाली गर्ने को हो, त्यसलाई चिन्नु छैन
राष्ट्रप्रेमी हुन कसैको
राष्ट्रिय गान गुनगुनाउनु छैन
मेरो माटोको सिमाना चिनेर
दुर्बल नागरिक कहलिनु छैन
गर्वका साथ कहलिनु छ एक नामुद रक्स्याहा ।

सोझो खुट्टाले सोझो सडकमा हिँड्न सक्तिनँ
सोझो मान्छेको सोझो नाक देख्तिनँ
मसी पिएर कवितामा कलम मातेको देख्ने म
मन्दिरको देउता पनि मातेको देख्छु
भो अब रक्सी पिउन कविता पढ्नु छैन ।

ए कवि ! म एक रक्स्याहालाई जान्नु छ—
यो देशका जोगीहरू कविता सुन्छन्÷सुन्दैनन् ?
यो देशका चोरहरू कविता बुझ्छन्÷बुझ्दैनन् ?
काइँला ! डाँकासभामा कहिल्यै
कविता सुनाएको छ÷छैन ?
तिम्रा कविता रक्सीसँग
सितन बनाएर खान सकिन्छ÷सकिँदैन ?
म एक रक्स्याहा, कुन लिँगमा पर्छु ? स्त्री या पुरुष ?
कुन जातमा पर्छु ? उँच या नीच ?
रक्स्याहा र कविको देश हुन्छ÷हुँदैन ?

जब अर्को पेग थपेर जुवाघरको पेटीमा सुस्ताउँछु
नौ वर्षअघि हलोले कुटेर मारिएका मेरा बाउ
शँख फुक्दै पशुपतिनाथ छिरेको किन देख्छु ?
पँधेरा जाँदा हराएका बहिनी सम्माननीयको कोटमा
रुमाल भएर सिउरिएको किन देख्छु ?
दिवँगत छिमेकीको घरबगैँचामा फल्ने रुद्राक्ष लगाई
जुवाघर छिर्दै गरेका जुवाडेहरू किन देख्छु ?

ए कवि ! तिम्रा कविताका हरफमा
म उभिएको जमिन धाँजा फाटेको किन देख्छु ?

काइँला थाहा छ ? आज फागुन सात गते
सखारै भट्टीमा हाजिर छु
रक्सीमा आठौँ रँग मिसिएको
इन्द्रेणीले घोचेपछि चहर्‍याइरहेछ मेरो कलेजो
यहीबेला म जस्तो रक्स्याहाको चित्त
शीतल हुनेगरी सुनाउन तिम्रो युगको प्रेमकविता ।