आगो अँगेनामा नै रमाउँछ
अँगेनाका सीमाहरूलाई स्विकार्छ
ताप दिन्छ, राप दिन्छ
जीवनलाई ऊर्जा र आधार पनि दिन्छ
अँगेनाको सीमा आत्मसात् गरेको
दनदनाउँदो आगोलाई नबिच्क्याऊ
आगोलाई जथाभावी नचलाऊ ।
आगो अँगेनामै सुहाउँछ
आगो आफैँ नाघ्दैन अँगेनाका सीमाहरू
आगो आफ्नै लय, ताल र अनुशासनमा नै
हुर्किरहन्छ, दन्किरहन्छ
आगोले रूपान्तरण गर्छ
आगामा नै सबैलाई
त्यसैले अँगेनामा निर्विघ्न बलेको आगोलाई
केटाकेटीले जस्तो
झिँजाहरू लिएर नजिस्क्याऊ
आगोलाई जथाभावी नचलाऊ ।
आगोलाई बिच्क्याउन खोजेमा
आगोलाई जिस्क्याउन खोजेमा
आगोलाई छरपस्ट छरेर निभाउन खोजेमा
यदि आगो साँच्चै नै बाहिरियो भने
अँगेनाका घेराहरूबाट
आगो आगो मात्र रहँदैन
आगो ऊर्जा मात्र बन्दैन
आगो भीषण डढेलो बन्न सक्छ
आगो अनियन्त्रित भएर
सहर–गाउँ जताततै दगुर्न सक्छ
त्यसैले बालकजस्तो भएर
झिँजाहरूमा आगो बोकेर नरमाऊ
त्यसैत्यसै आगोलाई नबिच्क्याऊ ।
आगोले झिल्कामा पनि
डढेलो बोकेको हुन्छ
आगो जीवनदायिनी मात्र होइन
विनाशक पनि हुन्छ
आगोलाई निमिट्यान्न पार्न सक्तैन पानीले
आगोलाई छोपेको छोप्यै गर्न सक्तैन खरानीले
त्यसैले आगोलाई दनदनाएर बल्न देऊ
काँचोलाई पकाउन र
सेलाएकोलाई तताउन देऊ
धपधपाएर, हुर्हुर्याएर बल्न देऊ
तर आगोलाई झिँजाहरूमा बोक्न नखोज
आगोलाई जथाभावी नचलाऊ ।